तीन दिन भित्र चित्तबुझ्दो जवाफ नदिए झाँक्रीलाई कारबाही !

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएपछि नेतृ रामकुमार झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ।
केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले मंगलबार (असार १७ गते)को मितिले ३ दिनको समय दिएर स्पष्टीसोधेका हुन्।
तीन दिनभित्रमा जवाफ दिनू भनेर पत्र पठाइएको छ । असार १५ मा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि प्रश्न उठाएकी थिइन्।
'कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,' उनले भनेकी थिइन्, 'अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।'
पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। उनको सांसद पद पनि निलम्बनमा परेको छ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीको नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचको प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।
अध्यक्ष नेपालमाथि मुद्दा दायर भएपछि नैतिकताको आधारमा उनले अध्यक्ष पदबाट समेत राजीनामा दिएर उच्च नैतिकता देखाउन सक्नुपर्ने आवाज पार्टीभित्र र बाहिर समेत उठिरहेका बेला झाँक्रीले सार्वजनिक रूपमा यस्तो बताएकी हुन् ।
झाँक्रीले प्रयोग गरेको ‘सिनो’ शब्द चयनको विषयलाई लिएर धेरै नेताहरूले आपत्ति जनाइरहेका छन् । नेताहरूले झाँक्रीको उक्त अभिव्यक्ति कुनै हालतमा जायज हुन नसक्ने र उनलाई कारबाही हुनुपर्ने मत राख्दै आएका छन् ।
शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी थिइन् ।
‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, संकट आयो भनेर भाग्ने होइन । पार्टीलाई पुनर्गठन गरौँ । कसरी गर्ने ?,’ झाँक्रीको प्रश्न थियो । त्यसै क्रममा उनले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस