• २०८२ असार १९ बिहीबार
  • Thursday, 3 July, 2025

कांग्रेस केन्द्रीय समितिः बस्नेतलाई थापाले बैठकमै ‘फोहोर’को संज्ञा दिएपछि...

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केही दिन यता जारी छ । बैठकमा नेताहरुले उत्तेजक अभिव्यक्ति दिइरहेका छन् । आजको बैठकमा भ्रष्टाचार मुद्दा झेलिरहेका सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतले गगन थापाका कारण आफू अख्तियारको छानविनमा परेको आरोप लगाएका थिए । 

महामन्त्री थापाले आजै त्यसको जवाफ फर्काएका छन् । बस्नेतले आफूमाथि लगाएको आरोपलाई 'गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित' भएको भन्दै फोहोरको संज्ञा दिए ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री बस्नेतले थापामाथि अश्लील, गालीगलौज र धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएका थिए।

बस्नेतको आरोपको खण्डन गर्दै महामन्त्री थापाले फोहोरलाई चलाएर आफू फेरि फोहोरी बन्न नचाहेको बताएका छन्। थापाले बस्नेतले लगाएका आरोपलाई 'राजनीतिको तह र सभ्यताको सीमा नाघेको भनेका छन्।

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, 'बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु–फोहोर चलाए आफैं फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।'

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरेका छन्। उनले भने, 'म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।'

टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री बस्नेतलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उनलाई आइतबार अदालतले २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

बैठमान यस अघि डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र उद्योगी विनोद चौधरीमाथि तिर चलाएका थिए । चौधरीले त्यसको जवाफ फर्काए भने चौधरीको जवाफमा अर्का नेता गुरु घिमिरेले प्रतिप्रश्न गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर