'पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओलीकै प्रस्तावमा राजनीतिमा आउनुहुन्छ'

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्।
आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरेका हुन्।
‘बजार हल्ला छ- अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन महासेठले भने, अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन।’
महासेठले थपे, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ।’
राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी पूर्वराष्ट्रपति भण्डारीले यही असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।
त्यसयता अब भण्डारीले एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई टक्कर दिने चर्चा भइरहेको छ। राष्ट्रपति हुनु पहिले भण्डारी एमालेकी उपाध्यक्ष थिइन्।
प्रतिकृया दिनुहोस