अदालत भन्छ बम पड्किएकाे प्रमाण भेटिएन, तर बम लागेका गौरीशंकरले सुनाए यस्तो पीडा

काठमाडाैं । जनकपुर उच्च अदालतकाे वीरगञ्ज इजलासले अघि सारिएका प्रमाण र पीडितका बयानहरूलाइ अस्वीकार गर्दै २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको अघिल्लाे दिन रौतहटको राजपुरमा बम पड्किएकाे प्रमाण नै नभेटिएकाे बताएकाे थियाे ।
तर साेही ठाउँका फरहदवामा रहेको राजा इँटा भट्टामा काम गर्ने भारत बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार त्यही विष्फाेटमा परे, घाइते भए । उनकाे पक्षमा कुनै सुनुवाइ भएन । बरू जिल्ला अदालतले पीडक भनेका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम जेलमुक्त भए ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित चार जनालाई जेठ १४ गते सफाइ दिएको थियो। सफाइ दिँदा न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले बिस्फोट नै भएको हो वा होइन भन्ने आधार नदेखिएको भन्दै फैसला गरेको थियो।
पूर्वमन्त्रीसमेत रहेका उनै अफतावकाे इँटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा गएका थिए । उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठुलो चोट लाग्यो ।
उक्त घटनामा पीडित चमारले पनि जाहेरी दिएका थिए। तर उच्च अदालतले उनको जाहेरी र बयानलाई नै प्रमाणको रूपमा अस्वीकार गरेको छ।
अदालतले उनले उपचार गरेको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्केर घाउ खत लागेको भन्ने देखिएको हुँदा बम बिस्फोटको खत रहेको झुटा ठहर गरेको हो।
उनले भने बम बिस्फोटबाट घाइते भएपछि आफूलाई काम पाउन पनि गाह्रो भएको बताए।
उनले आइतबार पत्रकार सम्मेलन गरी भने, ‘त्यो दिन पैसा लिन घरमा गएको थिएँ। एक जनाले पैसा लिएर गइहाल भन्यो। तर ढोकामा मात्रै पुगेको थिएँ। बम पड्कियो। आगो लागेपछि म भागेँ। घर पछाडि पानी थियो मैले पानी हालेर फेरि भागेँ।’
उनले रिपोटर्स क्लबमा दिएको अभिव्यक्तिः
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिएँ । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौँ । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो ।
आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो– यो सीतामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठिक हुन्छ तिमीलाई ।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी (भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो ।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुराए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।
प्रतिकृया दिनुहोस