गृहमन्त्रीले भनेः प्रधानमन्त्रीसँग स्पेन गएका सबै फर्किए

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका को को फर्किएका छैनन्, त्यसबारे सरकारलाई जानकारी दिन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभामा संसद्मा उठेका विषयमा जवाफ दिँदै उनले प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने सदस्यबारे मन्त्रिपरिषद्काे निर्णय हुने बताए।
‘प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ,’ लेखकले भने, ‘हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित भएर राख्दा राम्रो हुन्छ।’
उनले थपे, ‘प्रधानमन्त्रीको औपचारिकरुपले विदेश भ्रमण हुँदा उहाँको प्रतिनिधिमण्डलामा जाने सदस्यको मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जाने हुन्छ। म माननीयलाई आग्रह गर्न चाहान्छु, को-को जानु भएको थियो, को फर्किनुभएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो।’
मंगलबार संसद्मा यसबारे कुरा उठाएकी रास्वपा सांसद सोविता गौतमले भने आजको बैठकमा आफूले प्रधानमन्त्रीसँग सँगै गएका नफर्किएको नभनेको तर त्यही कार्यक्रममा गएका धेरै नेपाली नफर्किएको दाबी गरिन्।
यसैबिच गृहमन्त्री लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे खोला हुँदै भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए । घटनामा भएको क्षतिको विवरण र खोज उद्धार राहत तथा पुनर्निर्माण गरिने कार्यहरूबारे अवगत गराउँदै लेखकले भने, ‘उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको अवस्था छ । हालसम्म धादिङस्थित धादिङ क्षेत्रको त्रिशूली किनारमा नाम वतन नखुलेका २ शव फेला परेको ।’
त्यस्तै उनले रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको भन्दै नुवाकोटस्थित विदुरमा त्रिशूलीमा दायाँ खुट्टा नभएको पुरुषको शव फेला परेको तथा वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको बताए ।
मन्त्री लेखकले भरतपुरमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको भन्दै यो सहित २० पुगेको बताए । उनले भौतिक क्षतिको पनि विवरण सुनाए । ‘मितेरी पुल बगाएको, आवतजावत पूर्ण रुपमा बन्द भएको, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको छ’, मन्त्री लेखकले भने, ‘सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सार २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको । रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको । संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको । त्यसमा रहेका साधन समेत बगाएको । ३० जनाको हवाई उद्धार गरेको छ ।’
प्रतिकृया दिनुहोस