श्रेष्ठले भण्डारीलाई भेट्दा 'हेडक्वार्टर'मा तरंग

काठमाडौँ । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गत साता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ । एमाले राजनीतिमा पुनः सक्रिय हुन खोजिरहेकै बेला श्रेष्ठले भण्डारीलाई भेटेपछि माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार श्रेष्ठले गत साता उनको निवासमा भेटवार्ता गरेका थिए । माओवादीको केन्द्रीय कार्यालयले पनि उक्त भेटवार्ता भएको पुष्टि गरेको छ । भेटमा श्रेष्ठले एमालेसँग वाम एकताका लागि प्रस्ताव राखेको भन्ने विषय बाहिर आएपछि सापकोटाले त्यसको खण्डन गरेका छन् ।
‘समाचारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ। हाम्रो पार्टीको एमालेसँग एकता गर्ने कुनै नीति र सोच नरहेको स्पष्ट पार्दछौँ,’ असार २३ मा जारी विज्ञप्तिमा भनिएको छ।
‘समाचारमा भनिएझैँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति भण्डारीसँग भेट गरेको विषयमा पार्टीलाई कुनै जानकारी छैन । एमालेबाहेक अन्य कम्युनिस्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकसँग एकताका विषयमा छलफल भइरहेको भए पनि एमालेसँगको एकताको चर्चा पार्टीमा चलेको छैन।’
सापकोटाले एमालेसँग एकताको विषय तथ्यहीन र आधारहीन रहेको बताउँदै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । ‘यस प्रकारका तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा वास्तविकता स्पष्ट पार्न यो विज्ञप्ति प्रकाशित गरिएको हो,’ उनले भनेका छन् ।
पार्टीलाई जानकारी नदिई श्रेष्ठले पूर्व रष्ट्रपति भण्डारीसँग वाम एकताका विषयमा छलफल गरेपछि अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट बनेका थिए । दाहालसँगको परामर्शपछि सापकोटाले उक्त विषयमा विज्ञप्ति जारी गरेका थिए । ‘पार्टीलाई जानकारी नै नदिई पूर्व राष्ट्रपति भण्डारीलाई भेटेर एमालेसँग वाम एकताका लागि कुरा गरेको प्रचारबाजी गर्नु ठीक भएन,’ एक पदाधिकारीले भने, ‘त्यसकारण प्रवक्ताले विज्ञप्ति जारी गर्नुपरेको हो ।’
श्रेष्ठनिकट एक नेताले दुई नेताबीच भएको भेटघाटलाई सामान्य भन्दै पार्टी ‘हेडक्वार्टर’ ले सानो विषयलाई ठूलो बनाएको टिप्पणी गरे । ‘दुई नेताबीच भेटघाट हुनु सामान्य कुरा हो। यसमा विज्ञप्ति जारी गरेर खण्डन गर्नुपर्ने कारण के छ?,’ ती नेताले भने । हाल वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका भ्रमणमा छन् । उनी एक सातापछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
सामान्यतया दुई नेताबीच भएको भेटवार्तामाथि औपचारिक असहमति जनाएर विज्ञप्ति जारी गरिँदैन। तर भण्डारी-श्रेष्ठ भेटवार्तामा माओवादी केन्द्रले विज्ञप्तिमार्फत खण्डन गर्नुले अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठबीच दूरी बढेको संकेत दिएको छ । अध्यक्ष दाहालले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आए पनि वाम एकताको वातावरण नबन्ने बताएका थिए ।
‘विद्या भण्डारी राजनीतिमा आएपछि वाम ध्रुवीकरण हुन्छ भन्ने कुरा सामयिक लाग्दैन । केपी हुँदा हुन नसक्ने कुरा विद्याजी आउँदैमा तुरुन्तै वाम एकता अघि बढ्ने कुरा होइन,’ उनले कान्तिपुरसँग भनेका छन्, ‘मलाई लाग्छ, केपीजी र विद्याजीको राजनीतिक विचार, संस्कार र सोच एउटै हो । त्यहाँ खासै फरक छैन ।’
भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग भएको दुई बुँदे सहमतिप्रति श्रेष्ठले जेठ ३० गते असहमति जनाएका थिए । उनले त्यस्तो गम्भीर विषयमा पार्टीमा गहिरो छलफल नगरी सहमति गर्नु गलत भएको टिप्पणी गरेका थिए । श्रेष्ठले पार्टीभित्र छलफलै नगरी गरिएका सहमतिको समीक्षा गर्नुपर्ने माग पनि सार्वजनिक रूपमा गरेका थिए ।
त्यसपछि पनि अध्यक्ष दाहालले संसद्को अवरोध हटाउने, केन्द्रीय सदस्य मनोनयनलगायत विषयमा पार्टीभित्र छलफल नगरेको भन्दै श्रेष्ठ असन्तुष्ट बनेका छन् । कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस