• २०८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025

एमाले नेताहरुको दंतबजानः ‘भीम रावलको सदस्यता खोस्ने हर्कतको समीक्षा गरौँ’

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले शुक्रबार (आज) फेसबूकमा एउटा स्टाटस लेखे। त्यो स्टाटस पार्टीभित्रको छिनाझपटीको बारेमा थियो। उनले लेखेका थिए— च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ। बसौँ, आपसमा विमर्श गरौँ। सहकार्यमार्फत समाधान खोजौँ। जबजको मर्म पनि यही हो। राष्ट्र, जनता र एमाले हामी सबै एक ठाँउ उभिने आधार।

सचिव योगेशको यो आग्रहसँग केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई चित्त बुझेन। उनले योगेशको स्टाटस साझेदारी गर्दै विगत ११ वर्षयता योगेशले स्टाटसमार्फत उल्लेख गरेझैँ नै हुँदै आएको तर्क गरिन्। एमालेभित्र बल्ल नेताहरूले ‘पेलिनुको पनि हद हुन्छ’ भन्न थालेको उल्लेख गर्दै उनले भनिन्, ‘तर, राजनीति त विधि र विचारमा टेकेरै हिँड्नुपर्छ । फेरि पनि साङ्गोपाङ्गो हिसाब-किताब केन्द्रीय कमिटीले गरोस्।’

तिम्सेनाले दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउनेदेखि भीम रावलको सदस्यता खोस्नेसम्मको हर्कतको समीक्षाको मागसमेत गरेकी छन्। ‘दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङ्देन, कमल थापा, धवलशमसेर, दीपक बोहरासँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यतासमेत खोस्ने हर्कत कमिटीका नाममा र संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ,’ उनले भनेकी छन्।

तिम्सेनाले खतराको घण्टी, सच्चिने वा सक्किनेलगायतका विषय र प्रश्नबाट भाग्न मिल्ने ठाँउ नभएको पनि बताएकी छन्।

मुख्यत: पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पार्टीभित्र एकखाले बहस उठेको छ। पार्टीभित्र अहिले अध्यक्ष केपी शर्मा ओली र भण्डारीको कित्तामा नेताहरू विभाजित हुन थालेको देखिन्छ। योगेशले यसैलाई लक्षित गर्न खोजेका थिए तर, तिम्सेनाले पार्टीभित्रको विकृति सम्झाएर जवाफ दिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर