घुस काण्डमा मुछिएका आफ्नै मन्त्री किन जोगाइरहेछन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रतिपक्ष मात्रै होईन सत्तापक्ष दल नेपाली कांग्रेस र एमालेकै कतिपय नेताहरुले समेत प्रश्न उठाउँदा पनि प्रधानमन्त्री केपी ओलीले कर्मचारी सरुवाका लागि घुस काण्डमा मुछिएको सामान्य प्रशासन मन्त्री हटाएका छैनन् ।
सोमबार कांग्रेस महामन्त्री गगन थापाले समेत सार्वजनिक रुपमा यसबारे प्रश्न उठाएका थिए । काठमाडौँमा आयोजित पार्टीको पेसागत तथा बुद्धिजीवी विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्ने अपेक्षा भए पनि त्यसो नभएको भन्दै आपत्ति जनाएका हुन्।
'गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो' थापाको गुनासो थियो।
उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै थपे, 'तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’
उनले यस विषयमा मन्त्रीलाई बर्खास्त गरिसकेपछि गर्न बाँकी धेरै काम हुने बताए। 'यसको दूधको दूध, पानीको पानी हुनुपर्छ,' उनले भने, 'यसमा संलग्न भएका अरू को-को छन् खोजी गर्नुपर्छ।'
एमाले भित्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने भन्दै पार्टीभित्रैबाट दबाब बढेको छ। तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै कदम चालेका छैनन्।
ओलीले विवादित अडिओबारे बिहानै मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर स्पष्टीकरण सोधिसकेका छन्। यद्यपि, प्रधानमन्त्री र मन्त्रीबीचको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन।
प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका छन्। एमाले वृत्तबाटै पनि उनलाई तत्काल कारबाही गर्न दबाब परेको छ।
एमालेकै सांसद किरणकुमार साहले सोमबार संसदमै मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे। प्रतिनिधि सभाको बैठकमा उनले यस विषयमा सरकार मौन रहेको भन्दै आपत्तिसमेत जनाए।
‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ?' उनले भने, 'दुनियाँले सुनेको अडिओ सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।’
२०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। उनी पर्सा-३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन्।
२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
प्रतिकृया दिनुहोस