• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

इंग्ल्यान्डको रोमाञ्चक जित, भारत पराजित

एजेन्सी । इंग्ल्यान्डले उच्च प्रतिस्पर्धापछि सोमबार लर्डसमा भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ टेस्टको शृंखलामा २–१ को अग्रता बनाएको छ ।

१ सय ९३ रनको लक्ष्य पाएको भारत पाँचौं तथा अन्तिम दिन खेलको अन्तिम सत्रमा १ सय ७० रनमै अलआउट भयो ।

अफ स्पिनर सोएब बसिरको बललाई भारतका अन्तिम ब्याटर मोहम्मद सिराजले रोक्न खोजे पनि बल भुईंमा टप्पा खाँदै स्पिन भएर स्टम्पमा लागेपछि इंग्ल्यान्डले नाटकीय विजय हात पारेको हो । भारतले १ सय ४७ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । टोली विजयभन्दा ४६ रन टाढा रहेको अवस्थामा रवीन्द्र जडेजालाई साथ दिन सिराज क्रिजमा पुगेका थिए । यी दुईले चिया समयसम्म सुरक्षित खेलेर भारतलाई विजयतर्फ लगेका थिए । तर दुर्भाग्यजनक तरिकामा सिराज बोल्ड भएपछि लर्डसमा केवल चौथो पटक टेस्ट जित्ने भारतको सपना अधुरै नै रह्यो । जडेजा ६१ रनमा अविजित रहे । उनले १ सय ८१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस शृंखलामा यो उनको लगातार पाँचौं अर्धशतक हो ।

दुई लामो स्पेल बलिङ गरेका इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४८ रन खर्चेर ३ विकेट लिए । चोटका कारण चार वर्षभन्दा बढी समयपछि इंग्ल्यान्डका लागि पहिलो टेस्ट खेलिरहेका तीव्र गतिका बलर जोफ्रा आर्चरले ५५ रन खर्चेर ३ विकेट लिए । इंग्ल्यान्डलाई यही मैदानमा सन् २०१९ को विश्वकप पनि दिलाएका स्टोक्सका लागि लर्डस पुनः भाग्यशाली बन्यो । पहिलो इनिङ्समा २ विकेट पनि लिएका प्लेयर अफ द म्याच स्टोक्सले दुवै इनिङ्समा क्रमशः ४४ र ३३ रन बनाएका थिए ।

भोजनलगत्तै भारत ११२–८ को स्थितिमा पुगेको थियो र यो समयमा जडेजालाई साथ दिन जसप्रित बुमराह पुगेका थिए । जडेजा र बुमराहले २२ ओभरमा ३५ रन जोडेका थिए । पछिल्लो चार इनिङ्समा शून्यमा आउट भएका बुमराहले रक्षात्मक खेल्दै ५४ बलमा ५ रन बनाए ।

दुवै टोलीले पहिलो इनिङ्समा समान ३ सय ८७ रन बनाएको थियो । इंग्ल्यान्डले दोस्रो इनिङ्समा १ सय ९२ रनमात्र बनाउन सकेको थियो । तर, आइतबार खेलको अन्तिम बलमा आकाश दीप आउट भएपछि भारतले ५८–४ बाट दिनको खेल सुरु गरेको थियो । भारतले यो स्थितिलाई ७१ रनमा पुर्‍याएको थियो । यहींबाट भारतले ११ रन अन्तरमा ३ विकेट गुमाएपछि टोली ८२–७ को स्थितिमा पुग्यो । ऋषभ पन्त ९, ओपनर केएल राहुल ३९ र वासिङटन सुन्दर शून्यमै आउट भए ।

इंग्ल्यान्डले लिड्सको पहिलो टेस्ट जितेर शृंखलामा अग्रता लिएको थियो । भारतले एजबास्टेन टेस्ट ३ सय ३६ रनले जितेर शृंखला बराबरीमा ल्याएको थियो । चौथो टेस्ट जुलाई २३ बाट म्यानचेस्टरमा सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर