संसदमा उठ्यो आवाजः ‘राजीनामा हुँदैन, घुस खानेलाई पक्राउ गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अडियो प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले भने, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस्, छानबिन गरियोस् । अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस् ।’ भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने उनको भनाइ छ ।
उनले एउटा उखान उल्लेख गर्दै भने, ‘पहिले–पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू । खुलमखुल्ला अडियो टेप प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ?’, उनले भने ।
शाहीले प्रधानमन्त्री केपी ओलीलाई आरोपित गरेको भन्दै एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
बरालले संसदलाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने बताएकी छन् ।
‘यो संसदमा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ। पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनु भयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्याषकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनु पर्छ,’ उनले भनिन् ।
सरकारको नेतृत्वमाथि गलत आरोप लगाएर देशको नामाकरण नै फरक तरिकाले गर्नुपर्छ भनेर बदनाम गर्न खोजिएको उनको भनाइ थियो । उनले घस डिल प्रकरणमा नाम मुछिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता दोषी देखिए कारबाही गर्न आफ्नो दल तयार रहेको उल्लेख गरिन् ।
प्रतिकृया दिनुहोस