• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

स्पेनमा भिजिट भिसा प्रकरणः एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । स्पेनको सेभिल्लामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवरसहित ६ जना सदस्य छन् ।

गृहमन्त्री रमेश लेखकले प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको सीआईबीका एक जना उच्च अधिकृतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् । सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।

भिजिट भिसामा त्यसतर्फ गएका र फर्के–नफर्केको यकिन गरेपछि पठाउने गिरोहबारे अनुसन्धान गरिने गृहका एक उच्च अधिकृतले बताए । उनी भन्छन्, ‘विस्तृत अनुसन्धान पछि कोही संलग्न देखिए फौजदारी मुद्दा अघि बढाउने निर्णय भएको छ ।’ यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो । प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल लगायत सहभागी बैठकले असम्बन्धित व्यक्तिहरु समेत गएको हुनसक्ने निष्कर्ष निकालेको थियो ।

१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई विचौलियाले मड्रिड लगेका थिए । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।

त्यसरी दिइएको आवेदनमार्फत उनीहरुको नाममा कार्यक्रमको निम्तो आएको थियो । त्यो निम्तो देखाएर उनीहरुले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए । पछि भिसा लिएकाहरुको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरुलाई पठाइएको थियो भने उनीहरुलाई रोक्न भनिएको थियो । त्यस दिन खानेपानी मन्त्री प्रदीप यादवसहित केही अधिकारीहरु सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर