सांसद भण्डारीको प्रश्न : बेथितिको हद भो, सरकार र संसद केका लागि ?

काठमाडै । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकार र संसद केका लागि भन्दै प्रश्न उठाएका छन् ।
उनले प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकको आकस्मिक समयमा बोल्दै युवाहरु अध्ययनदेखि कामका लागि विदेश जाने क्रम निरन्तर बढ्दा पनि ठोस कदम चाल्न नसकेको भन्दै सरकार र संसद केका लागि भनी गरेका हुन् ।
‘हामीलाई जनताले पठाएको निरन्तरताका लागि हो कि केही फड्को मार्न ? देशमा युवा बस्दैनन् । विकासका काम समयमा सम्पन्न हुँदैनन् । गुणस्तर पनि हुँदैन भने सरकार र संसद के का लागि ?’ उनले प्रश्न गरे । सांसद भण्डारीले देशमा योजना छनोटदेखि काम गरेको पैसा भुक्तानीसम्म भ्रष्टाचार रहेको बताएका छन् ।
‘योजना बनाउँदादेखि नै भ्रष्टाचार छ । ठेक्का लगाउँदा भ्रष्टाचार, काम गर्दा क्वालिटी घटाएर भ्रष्टाचार र भुक्तानीमा भ्रष्टाचार,’ उनले भने, ‘देशमा बेथितिले हद पार गर्यो । मैले दुनियाँमा यस्तो कर्तव्यहीन र भाषणमा रमाउने नेतृत्व देखेको छैन । देश बनाउने हो भने सरकारलाई संसदले रुलिङ गर्नुपर्छ ।’
उनले युवाहरु बाध्य भएर विदेश पलायन भएको देखि सुशासनका लागि बारम्बर प्रश्न उठे पनि सरकार जवाफदेही नभएको आरोप लगाए । अब देश रेट्रोफिटिङ गरेर मात्र नचल्ने उनले बताएका छन्। ‘प्राविधिक जनशक्ति उत्पादनका लागि सरकारले किन वास्ता गर्दैन ? यहाँ तलदेखि माथिसम्म नेपाली युवा बाहिर जाउन् भनेर, नेपालमा नपढुन् भनेर दलालहरुसँग मिलेर स्तरीय शिक्षण संस्था खोल्न दिइँदैन,’ उनले भने, ‘बारम्बार प्रश्न उठ्छ । कसैले जवाफ दिन पर्दैन ? यस्तो तरिकाले देश चल्न सक्दैन । यो मुलुक अब रेट्रोफिटिङ गरेर चल्दैन । इन्फेक्टेड भइसक्यो डिसमेन्टल गर्नुपर्छ ।’
प्रतिकृया दिनुहोस