• २०८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025

बागमती मुख्यमन्त्री जाेगाउन र हत्याउन सांसद तानातानः रिसाेर्टमा बास, मन्त्रीकाे अफर,यस्ताे छ शक्तिसन्तुलन

हेटौंडा । नेपाली संसदीय इतिहासमा एउटै पार्टीकाे सरकार साेही पार्टीले ढालेकाे उदाहरण छन् । त्याे पनि नेपाली कांग्रेसकाे नाममा । अहिले संघीयता कार्यान्वयनपछि  बागमती प्रदेशमा प्रादेशिक सरकार ढाल्ने रेकर्ड पनि कांग्रेसले नै राखेकाे छ ।

कांग्रेसकै मुख्यमन्त्री बहादुरसिं लामा पद जोगाउन पार्टीका प्रदेश सदस्यलाई ‘मन्त्रीको अफर’ गरिरहेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएपछि लामा पद जोगाउन सबैखाले प्रयासमा जुटेका हुन् । उता नयाँ मुख्यमन्त्री बन्न कम्मर कसेर लागेका कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सांसद इन्द्र बानियाँ पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूलाई आफ्ना पक्षमा पार्न लागिपरेका छन् । 

उनले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका केही सांसदलाई दुई दिनसम्म हेटौंडाको एक होटलमा राखेका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने केही सांसदलाई आफ्नो पक्षमा ल्याइसकेको मुख्यमन्त्री लामाको दाबी छ । ‘केही दिनमै मन्त्रीहरू नियुक्त हुन्छन्, म त्यही प्रयासमा छु’, उनले भने, ‘मेरै नेतृत्वमा सरकार अघि बढ्छ, नेताहरूसँग पनि यही ढंगले छलफल भएको छ ।’ 

गत शुक्रबार कांग्रेसका २१ सांसदले दल नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये चारजना मन्त्रीले पदबाट राजीनामा दिए । रिक्त पदमा आफूहरुविरुद्ध हस्ताक्षर गर्नेमध्येकै सांसदलाई नियुक्त गरेर आफ्नो पक्षमा बहुमत कायम राख्न मुख्यमन्त्री लामा प्रयासरत छन् । 

संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दल नेताले यसबारे छलफल गर्नुपर्ने र सहमति नभए निर्वाचनमा जानुपर्ने कांग्रेस संसदीय दलको विधानमा छ । त्यसका लागि कांग्रेसले प्रतिनिधिसभा सदस्य राजेन्द्र  केसीलाई बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिएको छ । विवाद मिलाउने जिम्मेवारी पाएका    श्रेष्ठले सोमबार दिउँसो १ बजेका लागि दुवै पक्षबीच छलफल राखिएको बताए ।  

कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सहमतिको प्रयास भइरहेको बताए । छलफलपछि सहमति नभए अविश्वास प्रस्तावमा मतदान हुन्छ । मतदानमा कम्तीमा १९ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेमा दल नेताबाट लामा पदमुक्त हुनेछन् । 

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । नेताको पद रिक्त भएपछि नयाँ नेता चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । मुख्यमन्त्री लामाले सबै प्रक्रिया सामना गर्न चाहेमा यो प्रक्रिया मुख्यमन्त्री परिवर्तन वा उनी यथावत् रहने विषय टुंगो लाग्न कम्तीमा तीन साता लाग्नेछ ।  

हाल बानियाँका पक्षमा २१ र लामाका पक्षमा १६ प्रदेशसभा सदस्य देखिएका छन् । कांग्रेस बागमती प्रदेश दल नेताका लागि यसअघि भएको मतदानमा लामाका पक्षमा २१ र बानियाँका पक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर