एमालेमा ओलीकाे सर्कुलरः भण्डारीलाई पार्टी नेताका रूपमा नस्विकार्नु

काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा देशभरका नेता कार्यकर्ताका लागि प्रष्ट पार्न निर्देशिका जारी गरेकाे छ । अन्तर पार्टी निर्देशिका (अपानि) एमालेले हरेक बैठकपछि निर्णय भएका विषय कार्यान्वयनका लागि जारी गर्ने गर्दछ ।
केन्द्रीय कमिटी बैठकको निर्णय मातहतका कमिटीलाई पठाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे एमालेकाे सदस्यता नविकरणकाे प्रकृया नै नमिलेकाे र नहुने भन्दै उनलाइ एमाले नेताकाे हैसियतमा व्यवहार नगर्न निर्देशन दिएकाे छ ।
भण्डारी सिंगै राष्ट्रको नेता भएकाले पार्टीको कार्यकर्ता बनाउन नहुने एमालेले बताएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अपानि जारी गर्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन्।
'सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हूँदैन। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो,' गत मंगलबार मध्यराति सकिएको नवौं केन्द्रीय कमिटी बैठकको निर्णय खुलाउँदै अपानिमा लेखिएको छ।
केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको बैठकका निर्णय सामेल गरी जारी गरिएको अपानिमा भनिएको छ, ‘उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन। विधानको धारा ८ अनुसार हुन्छ।’
अपानीमा भनिएकाे छ, 'राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्य संस्थागत आबद्धताबाट पूर्ण रूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ। संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रूपमा राष्ट्रपति रहने मुलुकको प्रबन्धभन्दा भिन्न रहेको स्पष्ट छ।'
प्रतिकृया दिनुहोस