टिम टेवलटेनिसः दोस्रो भयो नेपाल

काठमाडौं । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा पुरुष/महिला दुवैमा भारतीय टोली छानिएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएको हो । पुरुष र महिलामा ५–५ राष्ट्र सहभागी थिए ।
दुवैतर्फ भारतले नेपालसहित माल्दिभ्स, श्रीलंका र बंगलादेशलाई समान ३–० को नतिजामा हराएर ८ अंक जोडेको थियो । भारतीय टोली इंग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ ।
पुरुषतर्फ नेपाल ७ अंकसहित दोस्रो भयो । भारतसँग मात्र पराजित नेपालले श्रीलंकालाई ३–०, माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा हराएको थियो । माल्दिभ्स र श्रीलंका तेस्रो भए ।
महिलातर्फ माल्दिभ्ससँगै नेपाल तेस्रो भयो । ६ अंक जोडेको नेपालले दुई राष्ट्रलाई पराजित गर्यो दुई राष्ट्रसँगको नतिजा सुम्पिएको थियो । माल्दिभ्स र बंगलादेशलाई समान ३–० ले हराएको नेपाल भारतसँग ३–० र श्रीलंकासँग २–३ ले पछि पर्यो । श्रीलंका ७ अंकसहित दोस्रो स्थानमा रह्यो ।
पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल तथा महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेलले प्रतिस्पर्धा गरेका थिए । मोहनदास बासुकला मुख्य प्रशिक्षक तथा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।
प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा भारतबाट १०, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सले ८–८ गरी ३४ खेलाडी सहभागी थिए । भुटान र पाकिस्तान सहभागी भएनन् ।
प्रतिकृया दिनुहोस