कांग्रेसको राजनीतिक सिकार भएका तीन तामाङ नेता

- देउवाले बहादुरलाई पनि घरमै बोलाएर छोड्न भने
काठमाडौं । सम्भवत यो एक संयोग नै हुनसक्छ कि पछिल्लो चरणमा नेपाली कांग्रेसले सत्तामा रहेका तामाङ समूदायका नेतालाई एक पछि अर्को गरेर हटाएको छ ।
त्यसको तेस्रो सिकार बनेका छन् बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङ ।
यस अघि कांग्रेस नेतृत्वको ऊर्जा मन्त्रालयबाट राज्यमन्त्री कान्दाबहादुरले छोड्नु परेको थियो । सोही मन्त्रालय मातहतको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ पनि निकालिएका थिए ।
कुलमान घिसिङलाई नेपाली कांग्रेसकै नेतासमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी ओलीसँगसमेत परामर्श गरेर कार्यकालको ४ महिना मात्रै बाँकी रहेको अवस्थामा हटाएका हुन् ।
कुलमान नहटाउन ठुलो दबाब भएपनि कांग्रेसले त्यसलाई सुनेन । कान्छाराम कांग्रेसका केन्द्रीय नेता नै हुन् । उनलाई प्रधानमन्त्री ओलीले बर्खास्ता गर्यो तर पनि कांग्रेसले संरक्षण गरेन । ओलीको सो कदम पनि देउवासँगको परामर्शमै भएको थियो ।
अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन इन्कार गर्दै आएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन् ।
देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको बुढानीलकण्ठ स्रोतले बतायो ।
‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’
देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएको लामानिकट स्रोतले बतायो ।
‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ स्रोतले भन्यो, ‘तर, उहाँ (लामा)ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।’
प्रतिकृया दिनुहोस