आत्मालाेचना गर्न जनार्दनलाई स्थायी समिति सदस्यकाे सुझाव

काठमाडौं । पार्टीभित्रको आन्तरिक विषय बाहिर बोलेको भन्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न नेताहरूले सुझाव दिएका छन्।
जारी स्थायी समिति बैठकमा शनिबारको खाजा खाने बेलासम्म बोल्ने अधिकांश नेताले शर्माले पार्टीभित्रको कुरा बाहिर सार्वजनिक गरेकोमा असन्तुष्टि जनाएको बताइएको छ।
स्थायी समिति सदस्य गणेशमान पुनले कमिटीको कुरा बाहिर लगेर गलत गरेको बताए। यस्तै उनीपछि धारणा राखेकी सत्या पहाडी र कमला रोकाले पनि पुनकै कुरामा समर्थन जनाउँदै अहिले माओवादी एकजुट भएको सन्देश दिने बेलामा पार्टीभित्र गुट रहेको देखाएर उपमहासचिव शर्माले राम्रो नगरेको टिप्पणी गरेका थिए।
बैठकमा अहिलेसम्म वर्षमान पुन, मातृका यादव, देवेन्द्र पौडेल, गंगा नारायण श्रेष्ठ, राम कार्की, कुलप्रसाद केसी, जोख बहादुर महरा, खगराज भट्ट, विश्वनाथ साहसहित २५ जना बोल्दा शर्माको पक्षमा कोही पनि नबोलेका बैठकमा रहेका एक नेताले बताए।
सचिव राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले भने जनार्दन शर्माको पक्षमा बोलेका थिए। शर्मा स्वयं भने बोल्न बाँकी छ।
स्थायी समिति सदस्य अञ्जना विशंखेले पार्टीले पनि पार्टी विधान र महाधिवेशनको निर्णयमा टेकेर पार्टी सञ्चालन गनुपर्ने सुझाव दिएकी छिन्।
प्रतिकृया दिनुहोस