जनार्दनले दोष अरुको टाउकोमा हालेर उम्कँन मिल्दैन, एकाध विरोधले फरक पर्दैन– सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज तेस्रो दिन सकियो । अब भोलि वरिष्ठ उपाध्यक्ष र महासचिवले बोलेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र बैठक सक्ने तयारी गरिएको प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आज सकिएको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै सापकोटाले एकादुईले विरोध गर्दैमा केही फरक नगर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव सबैले राम्रो छ भन्दै समर्थन गरिरहेको बताए ।
उपमहासचिव जनार्दन शर्माले ३१ लाख भोट भएको माओवादी केन्द्र अहिले ११ लाखमा झरेको विषयमा प्रचण्डले क्षमायाचना गर्नुपर्ने अनि मात्रै आफूले आत्मालोचना गर्ने तर्क अघि सारेका थिए ।
सो विषयमा प्रतिक्रिया दिदै सापकोटाले भने, हिजो पनि अधिकाँश सदस्यले प्रचण्डको विकल्प छैन भन्नुभएको थियो । आजपनि लगभग सबैजनाले प्रचण्डको विकल्प छैन, प्रतिवेदन ठीक छ भन्नुभएको छ,’ उनले थपे, ‘जनार्दनजीले नेतृत्वको सवालमा खासै कुरा गर्नुभएन तर जे भनेको छु, ठिकै भनिरहेको छु भन्नुभयो ।’
सापकोटाले थपे, ‘नेतृत्व सबल र सुदृढ बनाउनुपर्छ भन्ने छ । सदन सडक र पार्टीको नेतृत्व गर्नका लागि पनि प्रचण्डको विकल्प छैन । ३१ लाख बाट ११ लाखमा आयो भन्ने विषयमा राजनीतिमा कहिले फेरि बढ्न सक्छ । अध्यक्षले आत्मालोचना गर्नुपर्छ भनेर कसैले केही भन्नु भएको छैन । नेतृत्वलाई दोष दिएर उम्कने कुरा गरेर हुँदैन । अध्यक्षले ल्याएको प्रस्ताव ठिक छ भन्नु भएको छ । एकादुईले विरोध गरेर केही फरक पर्दैन । राम कार्कीले प्रचण्डको रोटेशन गरौं भन्ने कुरा सही र वस्तुवादी हुँदैन ।’
बैठकमा बोल्दै शर्माले माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने बताएका थिए ।
बैठकमा जनार्दनको भनाइ उदृत गर्दै एक नेताले भने–हिजो अध्यक्ष प्रधानमन्त्री हुँदा बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइयो । प्रभाकर एमालेमा जाँदैछ भनियो । राज्यका संयन्त्रहरु लगाइयो । आज पनि भइरहेकै छ,तर म पार्टी बलियो बनाउन लागिरहेको छु,कहिँ जान्न ।
शर्माले आफूलाई कारवाही गरे भोग्न तयार रहेको र गल्तिबापत आत्मालोचना पनि गर्न तयार भएको बताए ।
उनले २०६४ मा ३१ लाख भोट ल्याएको पार्टी अहिले ११ लाखमा झरेको जिम्मा कसले लिने रु भनी प्रश्न गरेका थिए । उनले सबैले आ आफ्नो हैसियत र जिम्मेवारी अनुसार आत्मालोचना गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस