• २०८२ श्रावण २१ बुधबार
  • Wednesday, 6 August, 2025

झलनाथ–माधवकुमार वारपारः नेपालमाथि खनालका पाँच प्रहार

काठमाडाैं ।  नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचकाे मतभेद उत्कर्षाेन्मुख छ।

सार्वजनिक मञ्चहरूमा, पार्टीका कार्यक्रममा र पत्रकार सम्मेलनमा दुवैले एक-अर्काको खुलेर खुइल्याउन थालेका छन्।

अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि खनालले नेतृत्व परिवर्तनको विषय उठाएका थिए। त्यसपछि पार्टीभित्र दुई नेताबीचको विवाद बाहिर आएको हो।

शुक्रबार विराटनगरमा पत्रकारहरूको जिज्ञासामा अध्यक्ष नेपालले झलनाथका लागि पार्टीमा ठाउँ नभएको र बिदा भएर जानसक्ने चेतावनदी दिए। 

‘पार्टीबाट बिदा गर्दिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन। उहाँले खुरूक्क राजीनामा दिनुपर्छ।  बिदा भएर जानुपर्छ। यो संस्थागत निर्णय हो। उहाँ निर्णयको उल्लंघन गर्नेमा नम्बर वन हुनुहुन्छ,’ नेपालले भनेका थिए।

त्यसको जबाफ दिन खनालले शनिबार पत्रकार सम्मेलन गरेर ५ प्रश्न उठाए । 

'छाडेर जानुस भनेको सुने। मनमा गुने। बडो दुःख लाग्यो। ०३२ सालदेखि सँगै बसेको पार्टी, सँगै आएको नेताले कम्युनिस्ट पार्टीको नियमहरू नीतिहरू राम्रैसँग बुझेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो,' उनले भने, 'तर यति तल्लो स्तरको चिन्तन उहाँमा रहेछ।'

'१३ महिनासम्म पार्टीले पास गरेको समाजवादी कार्यक्रमको दस्तावेज आजसम्म प्रकाशित भएको छैन। डेढ लाख पार्टी सदस्यहरू के बोकेर हिँडिरहेका होलान्। लक्ष्य नै छैन,' उनले भने।

'विधान कम्युनिस्ट पार्टीको जस्तो भएन। पार्टीमा बहस छलफलको आवश्यक छ। त्यो नै भएन,' उनले भने।

'विद्रोह गलत थियो भन्ने धारणा होइन तर हामीले औचित्य पुष्टि गर्न सकेनौं भने त्यो स्वतः गलत सिद्ध हुन्छ,' उनले भने। 

'माधवजीलाई मेरो नेता, उहाँले मलाई निर्देशन दिएर काम गर्नुपर्ने भनेजस्तो कहिल्यै ठानिनँ। सहयोद्धा चाहिँ हो। ०३२ सालदेखिको सहकार्य हो।अध्ययनको हिसाब, व्यवहारिक हिसाब र वैचारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ ठानेर तपाईं नै अध्यक्ष बन्नुस् भनेँ,' उनले भने। 

आन्दोलन अगाडि बढेर जनताले अग्रगति प्राप्त गरे आफू सन्तुष्ट हुने बताएको तर यहाँसम्म आइपुग्दा सन्तुष्ट हुन नसकिएको उनले बताए। 

'वैज्ञानिक समाजवादको बाटो समात्ने कि बहुदलीय जनवाद समाजवाद समात्ने। लोकतान्त्रिक समाजवाद जसलाई बुर्जुवा विचारधारकै रूप भनिन्छ। त्यो पक्षधरतातर्फ लागेको उहाँहरू देख्छु,' उनले भने। 

'०३२ सालदेखि सँगै बसेको पार्टी, सँगै आएको नेताले कम्युनिस्ट पार्टीको नियमहरू नीतिहरू राम्रै गरी बुझेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो।तर अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्षको पोस्टमै हुनुहुन्छ। विराटनगरमा पत्रकारहरूले सोधेको आधारमा प्रतिक्रियाशील भएर पार्टी छोड् भनेर आदेश दिनुभएछ,' उनले भने। 

आदेश दिँदैमा पार्टी नछाड्ने खनालले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर