• २०८२ श्रावण २० मंगलबार
  • Tuesday, 5 August, 2025

माओवादी स्थायी समिति आज तेस्रो दिनः कसले के भने ?

काठमाडौं । अन्तरकलहमा फसेकाे प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आइतबार तेस्राे दिन पनि बस्दैछ। 

यहीे साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक  अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए।

अहिलेसम्म बाेल्ने अधिकाँशले उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न र आत्मालोचित हुन सुझाव दिएका छन् भने प्रचण्डकाे समर्थन गरेका छन् ।

बैठकमा प्रस्तुत सातवटा एजेन्डामाथि शनिबार २५ जना सदस्यहरूले धारणा राखे । बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखे ।

'विभिन्न शक्तिको प्रभावमा पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको छ। अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुको विकल्प छैन,' सदस्यहरूले राखेको धारणा सुनाउँदै एक नेताले भने, 'पार्टीलाई वैचारिक र सांगठनिक हिसाबले बलियो बनाउनुपर्ने बेला अन्तरविरोध सिर्जना गर्न नहुनेमा बोल्ने अधिकांश सदस्य एक मत हुनुहुन्छ।'

शर्माले पछिल्लो समय अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर प्रश्न गरिरहेका छन्। अध्यक्षको नेतृत्वशैलीबारे प्रश्न उठाउँदा पार्टी छाडेर जान भनेको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका छन्।

पछिल्लो समय पार्टीभित्र र बाहिर पनि प्रचण्डको छवि राम्रो बनिरहेका बेला उमहासचिव शर्माले अन्तरविरोध सिर्जना गर्न खोजेको भन्दै कतिपय सदस्यहरूले त्यसलाई शंकाको दृष्टिले हेरेको अर्का स्थायी समिति सदस्यले बताए।

'पार्टीभित्र भिन्न विचार, दृष्टिकोण आउनु स्वाभाविकै हो। त्यसबारे पार्टीमा छलफल पनि हुन्छ। तर उपमहासचिवज्यूको कार्यशैली भएन। नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर प्रस्तुत हुनुभएन,' बैठकमा उठेको कुरा सुनाउँदै ती नेताले भने, 'उहाँले मनमोहन अधिकारीदेखि यताका सबै प्रधानमन्त्री भ्रष्ट हुन् भन्नुभएको छ। यसमा कतिपय प्रधानमन्त्री दिवंगत पनि भइसकेका छन्। उहाँले यो पुष्टि गर्न सक्नुहुन्छ? पुष्टि गर्ने आधार के छन् त? नेतृत्वलाई कमजोर बनाउन यसरी प्रस्तुत हुनुभएन। उहाँ पनि त पटक पटक सरकारमा जानु भएको छ, मन्त्री हुनुभएको छ!' 

उपमहासचिव शर्माले भने शनिबार बैठकमा आफ्ना धारणा राखेनन्। माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष प्रचण्डले सबैलाई आफ्ना विचार प्रस्तुत गर्न भनेका थिए। 

स्थायी समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले समाजवादी मोर्चा घटक एकीकृत समावादीसँग छिटो एकता टुंग्याउन जोड दिएका छन्।

बैठकमा सचिव राम कार्कीले भने बोल्ने स्थायी समिति सदस्यहरूभन्दा भिन्न मत राखे।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भिजिट भिसा प्रकरणमा सरकारसँग पार्टीले दुई बुँदे सहमति गर्दा नराकात्मक सन्देश गएकोबारे पनि बैठकमा कुरा उठेको बताए।

शनिबार वर्षमान पुन, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, ओनसरी घर्ती, राम कार्की, मातृका यादव, जयपुरी घर्ती, कमला रोक्का, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, कुलप्रसाद केसी, महेश्वर गहतराज, अमृता थापा, अञ्जना विशंखे, शशी श्रेष्ठ, सत्य पहाडी, अमृता थापामगर, जोखबहादुर महरा,  लगायत २५ जनाले धारणा राखे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर