कस्तो हुन्छ आजको मौसमः तीन प्रदेशका पहाडमा ‘भारी वर्षा’

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो : कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति : देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले यहाँ 'दिउँसो' दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
प्रतिकृया दिनुहोस