• २०८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025

खनालले श्रेष्ठसँग भनेः पार्टीको एकता र सहकार्यमा सकारात्मक

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेको खनालको सचिवालयले जनाएको छ ।

झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक छलफल भएको थियो। साथै नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूको विश्लेषण गर्दै क्रान्तिकारीहरूको राष्ट्रिय कार्यभारमा समेत  विमर्श गरिएको थियो।

श्रेष्ठले आफ्नो पार्टी स्थायी कमिटीको हालैको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यको अपिल गरेका थिए। झलनाथ खनालले पनि कम्युनिस्ट र वामपन्थी पार्टीहरूको एकता र सहकार्यमा आफू पनि सकारात्मक रहेको स्पष्ट पारेका छन्।

भेटवार्तामा नेपालमा भैरहेको ऐतिहासिक राजनीतिक परिवर्तनको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण र वैज्ञानिक समाजवादको स्थापना दिशातर्फ अघि बढ्न कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता माथि विशेष जोड दिइएको छ। यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ । खनाल र श्रेष्ठ वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् । श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटलाई बढाएका छन् । 

यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर