मदन भण्डारीकी छाेरीले एमालेबाट दिइन राजीनामा

काठमाडौँ । पूर्वराष्ट्रपती विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा (एमाले)को निर्णयपछि छोरी उषाकिरण भण्डारीले पार्टीको विभागबाट राजीनामा दिएकी छिन्। पार्टीको परराष्ट्र मामिला विभागमा रहेकी भण्डारीले विभागको सदस्यबाट राजीनामा दिएकी हुन्।
एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ। भण्डारीले तीन दिनअघि राजीनामा दिएको स्रोतको दाबी छ। भण्डारी आफैँले भने केही बताएकी छैनन्। 'उहाँले राजीनामा दिनु भएको हो,' स्रोतले भन्यो। मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी अहिले मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष समेत हुन्।
साउन ९ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता कायम भएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन्। त्यसयता एमालेका विभिन्न विभागमा रहेका नेताहरूले भण्डारी राजनीतिमा आउन नहुने भन्दै अभिव्यक्ति दिइरहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि विद्या भण्डारी सम्मानित र राष्ट्रको उच्च पदमा पुगेका कारण उच्च सम्मानका साथ बस्नुपर्ने बताउँदै आएका छन्।
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाएपछि स्वर्गीय मदन भण्डारीको छोरी उषाकिरणले राजनीतिमा आउन रोक लगाउने निर्णयबाट आफू अचम्मित नभएको भन्दै साउन ८ मा सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकी थिइन्। एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो।
त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उषाले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने गरी गरिएको निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी थिइन्। ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ र निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ अचम्मित छैन, म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले भनेकी थिइन्, ‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग!! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवारमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भने पनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद!’
उषाकिरण भण्डारी विद्या भण्डारी (आमा)को पार्टी सदस्य नविकरण नगर्ने निर्णयबाट नै असन्तुष्ट रहेकी थिइन्। त्यसयता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउनका लागि आफू सक्रिय रहने भन्दै त्यसका लागि छुट्टै कार्यालय समेत स्थापना गरिसकेकी छिन्। त्यसलाई विद्या भण्डारीको सम्पर्क कार्यालयको रूपमा पनि हेरिएको छ। एमालेको विधान महाधिवेशन नजिक आइरहेका बेला विद्या भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेर पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट गर्ने भएकी छिन्।
प्रतिकृया दिनुहोस