• २०८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025

‘पृथ्वी नै सूर्यवंश हो, हामी सबै सूर्यवंशी हौं’: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनर्जन्मको परम्परागत धार्मिक मान्यतालाई अस्वीकार गर्दै यसको वैज्ञानिक र भौतिकवादी व्याख्या गरेका छन् । उनले मानिसको पुनर्जन्म उसको सन्तानको रूपमा हुने र मृत्युपछि शरीर अणु–परमाणुमा रूपान्तरित हुने तर्क गरेका छन् ।

सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘हाम्रा कथाहरूले परिकल्पना गरेको पुनर्जन्म हुन्थ्यो भने त्यो बेग्लै हुन्थ्यो होला । तर पुनर्जन्म होइन, पुनर्जन्म भनेको सन्तानलाई पुनर्जन्म भन्न सकिएला ।’

उनले जीवन र मृत्युको चक्रलाई भौतिक विज्ञानको दृष्टिकोणबाट व्याख्या गर्दै मानिसको मृत्युपछि उसको भौतिक अस्तित्व समाप्त नहुने तर रूपान्तरण हुने बताए । ‘व्यक्ति चाहिँ रूपान्तरित हुन्छ । एक वस्तुबाट अन्य वस्तुमा, मान्छेबाट अरू चीजमा रूपान्तरण हुन्छ । विभिन्न अणु, परमाणु, अरू चीजहरूमा हुँदै जान्छ र क्वान्टममा पुग्छ,’ उनले सुनाए ।

अध्यक्ष ओलीले धार्मिक श्लोक ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ लाई समेत आफ्नो भौतिकवादी व्याख्यासँग जोडेका छन् । उनका अनुसार मृत्युपछि मानिसको शरीर ऊर्जा (शक्ति) को रूपमा सबै प्राणीमा रहन्छ र विभिन्न रूप लिँदै जान्छ । ‘ऊ (व्यक्ति) एउटा सबभन्दा सानो झिल्कोको रूपमा कायम रहन्छ । रूपान्तरित त्यसरी हुँदै जान्छ र त्यसले फेरि अर्को के रूप लिन्छ, के रूप लिन्छ, त्यो अनेक रूप लिँदै जान सक्छ,’ उनले थपे ।

प्रधानमन्त्री ओलीले आफूलाई सूर्यवंशी र चन्द्रवंशी भनेर श्रेष्ठताको धाक लगाउनेहरूप्रति लक्षित गर्दै व्यङ्ग्य गरेका छन् । उनले वैज्ञानिक र दार्शनिक तर्क प्रस्तुत गर्दै यदि त्यसरी हेर्ने हो भने पृथ्वीका सबै मानिस सूर्यवंशी हुने बताए ।

ओलीले जन्मका आधारमा श्रेष्ठता दाबी गर्ने सामन्ती सोच भएको सुनाए । ‘उहाँ (मदन भण्डारी) सामन्तवाद विरोधी, राष्ट्रिय स्वाधीनताको पक्षमा, मानवीय स्वतन्त्रता र लोकतन्त्रको पक्षमा हुनुहुन्थ्यो,’ ओलीले भने, ‘पारिवारिक श्रेष्ठता, व्यक्तिगत श्रेष्ठता, त्यो पनि जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेर आफूलाई सूर्यवंशी, चन्द्रवंशी भनेर ढाँट्नेहरूका विरुद्ध त उहाँले संघर्ष नै गर्नु भएको हो ।’

उक्त विषयलाई थप प्रस्ट्याउँदै उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘सूर्यवंश भनेको त पृथ्वी हो । अब पृथ्वीवंशी, चन्द्रमालाई भन्न सकिन्छ, पृथ्वीवंशी भनेर । ग्रहहरूलाई भन्न सकिन्छ सूर्यवंशी । अब त्यही हिसाबले भन्ने हो भने हामी सबै सूर्यवंशी हौं ।’

उनले यसको वैज्ञानिक व्याख्या गर्दै थपे, ‘सूर्यग्रहबाट पृथ्वी बन्यो, पृथ्वीमा वायुमण्डल बनेपछि जीवन सृष्टि भयो । जीवन सृष्टि हुँदै जाँदा मानव सृष्टि भयो । सूर्यकै सन्तान भन्न सकिने भयो, त्यहीँबाट उत्पत्ति भयो ।’

तर, यस्ता वंशका कुरा गरेर धाक लगाउने प्रवृत्तिलाई उनले मानसिक उपचारको आवश्यकता रहेको बताए ।

‘अब बाउआमा नै सूर्य, चन्द्रमा हुन् भन्न थाल्यो भने चाहिँ अलिकति मानसिक उपचारको आवश्यकता पर्ने हुन जान्छ,’ उनको टिप्पणी थियो । अध्यक्ष ओलीले मदन भण्डारी र जीवराज आश्रित जस्ता नेताहरूलाई उनीहरूको योगदान र विचारका आधारमा सम्झिनु पर्ने बताए, न कि कुनै काल्पनिक वंशका आधारमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर