• २०८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025

देशभर भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैं | अहिले देशभर मनसुन सक्रिय छ। मनसुनकै कारण गएराति देशैभर वर्षा भएको छ । राति कोशी प्रदेशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी परेको हो । झापा र उदयपुरसहित केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

ठूलो पानी परेको क्षेत्र आसपासमा नदी तथा खोलामा जलसतह बढेको छ । नदी तटीय बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसबाहेक बाँके, डोटी, इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा मध्यम वर्षा भएको छ ।
हाल कोशी, मधेश, बागमतीको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ । कोशीका एक–दुई स्थानमा अहिले पनि ठूलो पानी परिरहेको छ । 

आज पनि देशभर पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएका कारण सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

सुदूरपश्चिमको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनीको तराईको भूभागको थोरै स्थान, गण्डकी र कर्णालीको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर