• २०८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025

१४ महिनापछि भारत बाेलाएका माेदीले ओलीसँगकाे भेट किन बोधगयामा राखे ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । भारतका प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहँदै आएकामा यस पटक गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल रोजिएको हो । 

प्रधानमन्त्री ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने तयारी छ । प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भारतको औपचारिक भ्रमण गर्न लागेका हुन् । त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ ।

ओली दिल्ली भएर बोधगया जाने वा काठमाडौंबाट सिधै त्यहाँ पुग्ने भन्नेबारे स्पष्ट भइसकेको छैन । ओलीको भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव मिस्रीको भ्रमणबाट तय हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । भ्रमण तयारीका लागि विदेश सचिव मिस्री आइतबार काठमाडौं आउँदै छन् । उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।

भारतीय सैन्य विमानबाट आइतबार अपराह्न काठमाडौं ओर्लिएर मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव अमृत राईसहितका उच्चपदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम छ । भेटघाट सकेर सोमबार उनी फर्किनेछन् । एक वर्षमा भारतीय विदेश सचिव मिस्रीको यो दोस्रो नेपाल भ्रमण हुनेछ । उनी गत वर्ष २७–२८ साउनमा पनि काठमाडौंमा थिए । विगतमा औपचारिक भ्रमणमा गएका नेपालका प्रधानमन्त्री र भारतीय समकक्षीबीच दिल्लीस्थित हैदराबाद हाउसमा औपचारिक भेटवार्ता र संयुक्त सम्बोधन हुने गरेको थियो । औपचारिक वार्तापछि मात्र पाहुना प्रधानमन्त्रीलाई दिल्ली बाहिर घुमाउने अभ्यास थियो ।

यसअघि भारतको औपचारिक भ्रमणमा पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल्लीको औपचारिक कार्यक्रमपछि मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको भ्रमणमा लगिएको थियो । त्यसअगाडिका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीपछि बनारसमा काशी विश्वनाथ मन्दिरको दर्शनमा लगिएको थियो ।

मोदीले सन् २०१४ मा भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अहमदाबादमा भेटवार्ता गरेका थिए । त्यस्तै, सन् २०१९ मा सी चिनफिङ र मोदीबीच भारतको दक्षिणी राज्य तमिलनाडुमा द्विपक्षीय भेटवार्ता भएको थियो । सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदा गुजरात ओर्लिएका थिए । दुई वर्ष अगाडि भारत भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई मोदीले जयपुरमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिन विदेश सचिवलाई पठाउनु तथा द्विपक्षीय वार्ताका लागि दिल्लीबाहिरको स्थान रोज्नुलाई भारतले विशेष महत्त्व दिएको रूपमा बुझ्नुपर्ने परराष्ट्रका एक अधिकारीले बताए । उनका अनुसार दिल्ली बाहिर हुने भेटवार्तामा दुई नेताले एकअर्कासँग औपचारिकसँगै अनौपचारिक वार्ताका लागि पनि राम्रो समय पाउनेछन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन ।

भारतले ओली–मोदी भेटवार्ताका लागि दिल्ली बाहिरको कुनै धार्मिक स्थलको प्रस्ताव कूटनीतिक च्यानलबाट पठाइरहेको थियो । प्रधानमन्त्री ओलीलाई अयोध्या लगिने हो कि भन्ने संशय बालुवाटारमा थियो । ओलीले रामको जन्म नेपालकै ठोरीनजिक अयोध्यापुरीमा भएको अभिव्यक्ति केही वर्षअघि दिएका थिए । ‘केही सहरका नाममा दुई पक्षबीच अनौपचारिक रूपमा सरसल्लाह भएर बोधगयाको टुंगो लागेको छ,’ बालुवाटारका एक अधिकारीले भने । -कान्तिपुर दैनिकबाट
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर