• २०८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025

राष्ट्रपतिले नमानेपछि प्रधानमन्त्री ओली जाने भए चीन

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले अनिच्छा जनाएपछि चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री केपी ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओली १४ भदौमा गएर १८ भदौमा स्वदेश फर्किने तय भएको छ । परराष्ट्र मन्त्रालयले उनको भ्रमण तालिका सार्वजनिक गर्न भने बाँकी छ ।

चीनले राष्ट्रपति पौडेललाई १८ भदौमा बेइजिङमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने गरी औपचारिक भ्रमण गराउने इच्छा जनाएको थियो । कूटनीतिक स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले केही महिनाअघि राष्ट्रपति पौडेललाई यो जानकारी दिएका थिए ।

पौडेलले आफू चीन जान तयार भएको जवाफ पनि दिएका थिए । राष्ट्रपतिलाई ३ सेप्टेम्बर (१८ भदौ) मा जापानी सेनाविरुद्ध चिनियाँ सेनाको विजयोत्सव परेडमा सहभागी हुने गरी औपचारिक भ्रमणको निमन्त्रणा परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासमार्फत पाएको थियो ।

जापान नेपालको प्रमुख सहायता साझेदार हो । जापानी सेनाविरुद्ध चिनियाँ सेनाले विजय प्राप्त गरेको वर्षगाँठमा नेपालको उच्चस्तरीय प्रतिनिधित्व कूटनीतिक सन्तुलनका हिसाबले सही नहुने सुझावपछि राष्ट्रपति पौडेल नजाने निष्कर्षमा पुगे । त्यसपछि राष्ट्रपतिको भ्रमण नहुने जानकारी चिनियाँ पक्षलाई गराइएको एक कूटनीतिक अधिकारीले बताए । ‘जापानलाई चिढ्याउने र नेपाललाई कुनै पनि हित नहुने यस्तो कार्यक्रममा सहभागी हुन राष्ट्रपति जानुहुँदैन भन्ने आन्तरिक विश्लेषणपछि राष्ट्रपति नजाने तय भयो,’ ती अधिकारीले भने । राष्ट्रपति पौडेल आफैँले २०२२ डिसेम्बरमा त्यहाँको सर्वोच्च पदक ‘अर्डर अफ द राइजिङ सन’ पाएका थिए ।

चिनियाँ पक्षले राष्ट्रपति पौडेललाई एससिओको शिखर सम्मेलनमा भ्रमण गराउने इच्छा गरेको थियो । तर, राष्ट्रपतिको राजकीय भ्रमण हुनुपर्ने नेपालको जवाफपछि चिनियाँ पक्षले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिएको उच्च कूटनीतिक स्रोतले बतायो । ‘प्रधानमन्त्रीलाई दुई हप्ताअघि मात्रै चिनियाँ राजदूतले एससिओ सम्मेलनमा सहभागिताका लागि भनेका थिए । गत मंसिरमा औपचारिक भ्रमण गरिसकेको हुनाले अहिले चीन जाने इच्छा प्रधानमन्त्रीको थिएन किनभने उहाँ भदौको अन्तिममा भारत जाने तयारीमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर, सम्मेलनमा विश्वका शीर्ष नेताहरूको जमघट हुने र भारत–चीनका कार्यकारी प्रमुखहरूसँग भेट हुने सुनिश्चित भएपछि प्रधानमन्त्रीले बुधबार मात्रै जाने तय गर्नुभएको हो ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ भदौमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । त्यही दिन चिनियाँ राष्ट्रपति सीले एससिओ शिखर सम्मेलनमा सहभागी हुने शीर्ष नेताहरूका लागि बेइजिङमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री ओली सहभागी हुँदै छन् । त्यही सिलसिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ । ‘भारतीय प्रधानमन्त्रीसँग भेट हुने, चिनियाँ राष्ट्रपतिसँग पनि भेट हुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत एससिओसम्बद्ध देशका शीर्ष नेताहरूसँग भेट हुने अवस्थालाई मध्यनजर राखेर प्रधानमन्त्रीले चीन जाने तय गर्नुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

त्यसैबिच प्रधानमन्त्री ओलीले बुधबार परराष्ट्रसचिव अमृतबहादुर राईलाई चीन भ्रमणको तयारी गर्न निर्देशन दिएका छन् । ‘हामी मूलत: चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्रीले १८ भदौमा गर्ने भेटवार्ताको एजेन्डामा काम गरिरहेका छौँ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । यस्तै, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको बताए । ‘भ्रमणको तयारी भइरहेको छ । उपयुक्त समयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्नेछ,’ प्रवक्ता क्षेत्रीले भने । प्रधानमन्त्री ओली ३१ भदौमा भारत भ्रमणमा जाने तय भइसकेको छ ।

एससिओमा नेपाल
एससिओ शिखर सम्मेलन १५ र १६ भदौमा आयोजना हुँदैछ । चीनले एससिओ राष्ट्रप्रमुखहरूको सम्मेलन पाँचौँपटक आयोजना गर्न लागेको हो । यसअघि गत वर्ष कजाखस्तानको अस्टानामा सम्मेलन भएको थियो नेपाल एससीओको डायलग पार्टनर हो । १ असार ०५८ मा स्थापना भएको एससिओका दश सदस्य मुलुक छन् । चीन, रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानले स्थापना गरेको एससिओमा सन् २०१७ मा भारत र चीन यसका सदस्य भए । २०२३ मा इरान र २०२४ मा बेलारुस सदस्य भए । यसमा अफगानिस्तान र मंगोलिया पर्यवेक्षक मुलुक हुन् भने नेपाल, अजरबैजान, आर्मेनिया, कम्बोडिया, टर्की, श्रीलंका, साउदी अरब, इजिप्ट, कतार, बहराइन, मालदिभ्स, म्यानमार, युएई र कुवेत डायलग पार्टनर हुन् । शिखर सम्मेलनमा सदस्य मुलुकका कार्यकारी प्रमुखहरू सहभागी हुनेछन् । 

भारतीय विदेश सचिव आइतबार आउने
भारतीय विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् । कूटनीतिक स्रोतका अनुसार मिश्रीले आइतवारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नेछन् । उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । आइतबारै परराष्ट्र सचिव अमृतबहादुर राईसँग मिश्रीले द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । मिश्री सोमबार पशुपतिनाथ मन्दिर दर्शनलगयतका कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने कार्यक्रम छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर