• २०८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025

मन्त्री खड्काकाे उम्मेद्वार: कांग्रेसमा अब शशांक सभापति

जनकपुरधाम । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब कांग्रेसको सभापति शशांक कोइराला बन्ने दाबी गरेका छन् । लहानमा बिहीबार आयोजित प्रदीप गिरीको तेस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवापछि कांग्रेसको सभापति शशांक बन्ने बताएका हुन् ।  

शशांक योग्य, इमान्दार र क्षमतावान व्यक्ति भएको र उनी पार्टी निर्माता बीपी कोइरालाको पुत्र भएकोले उनको स्वाभावकीय हक लाग्ने पनि मन्त्री खड्काले जिकिर गरे । 'प्रतिस्पर्धा हुन्छ, तर शेरबहादुर देउवापछि डा। शशांक कोइराला नै पार्टी सभापति बन्नुहुन्छ,' उनले भने, 'पार्टीको महामन्त्री भइसकेका मान्छे, पार्टी कसरी चलाउने ज्ञान र अनुभव उहाँसँग छ ।'

शशांकको बारेमा टीकाटिप्पणी हुने गरे पनि उनी निष्कलंकित व्यक्ति भएको उनको जिकर थियो । 'उहाँको बारेमा टीकाटिप्पणी हुन्छ, तर उहाँ निष्कलंकित व्यक्ति हो,' उनले भने, 'आजैका मितिदेखि तयारीमा लाग्न म उहाँलाई आग्रह गर्न चाहन्छु ।'

मन्त्री खड्काले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको दाबी पनि गरे । 'सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ,' उनले भने, 'सत्तामा आउन छट्पटाइरहेका मान्छेहरूले मात्रै सरकारबारे गलत टिप्पणी गरिरहेका छन् । यो सरकार स्मुथ्ली आफ्नो अबधि पूरा गर्छ ।'

मन्त्री खड्काले प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे । 'उहाँको (प्रदीप गिरि) अभाव मुलुकलाई सधैं खड्किरहनेछ, किनकि उहाँ युगले जन्माएको अदभूत व्यक्ति हुनुहुन्थ्यो,' उनले भने, 'त्यसैले हामी उहाँले देखाएको बाटोमा हिँड्न आवश्यक छ ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर