दुबैलाई साईबर अपराध मुद्दाः एकैदिन एमालेका महर छुटे, रास्वपाका पाँडे थुनामा

काठमाडौं । बुधबार साइबर अपराध सम्बन्धी उस्तै प्रकृतिका मुद्दामा सत्तारुढ नेकपा एमालेका नेता ऐन महर र विपक्षी रास्वपाका नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा परे ।
तर हतार हतार एमाले नेता छुटे भने रास्वपा नेता थुनामै बसे । अहिले राज्यको एउटै नियम र व्यवहारका कारण किन फरक भन्ने बहस चलिरहेको छ ।
बुधबारै पक्राउ परेका एमालेका केन्द्रीय सदस्य महर हाजिरी जमानीमा छुटे । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बयान लिएर महरलाई साँझ नै छाडेको हो।
सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता रामहरि शर्माले महरलाई हाजिर जमानीमा छाडेको पुष्टि गरे। उनले महरसँग बयान लिने काम सकिएकाले हाजिर जमानीमा छाडिएको बताए।
महरमाथि बझाङकै रश्मीला धामीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको आरोप लगाउँदै हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। सोही जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।
महरविरुद्ध धामीले आफूमाथि अपशब्द र विभिन्न लाञ्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोस्ट गर्ने गरेको आरोप लगाएकी छन्।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्युतीय सञ्चार माध्यमहरूमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउन, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै पनि किसिमको अमर्यादित कार्य गर्ने वा गर्न नपाइने भन्ने उल्लेख छ।
कसुर गरेको पुष्टि भएमा अभियुक्तविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई पक्राउ गरेको हो ।
उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहाँ उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।
प्रतिकृया दिनुहोस