एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडाैं । आन्दोलनरत नेपाल शिक्षक महासंघले सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिएको छ।
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघ भदौ ९ गतेदेखि आन्दोलनमा छ।
राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र दिनेदेखि पार्टी कार्यालयहरूमा धर्ना दिनेसम्मका कार्यक्रम गरिरहेको छ।
यसैक्रममा बिहीबार शिक्षक महासंघले एमाले कार्यालयमा धर्ना दिएका हुन्। साथै शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ध्यानाकर्षण पत्र महासचिव शंकर पोखरेललाई बुझाएका छन्।
यसअघि बुधबार शिक्षक महासंघले नेपाली कांग्रेसको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए। शुक्रबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा शिक्षक महासंघले धर्ना दिने कार्यक्रम छ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भइसकेको छ।
प्रतिनिधि सभाबाट पारित भएर विधेयक राष्ट्रिय सभामा जाने र त्यहाँबाट पारित भई अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। विधेयक प्रमाणीकरण भएपछि ऐनको रूप लिनेछ।
प्रतिकृया दिनुहोस