चीनमा मोदीसँग ओलीको भेट नहुने

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भेटवार्ता गरेका प्रधानमन्त्री ओलीको मोदीसँग भेटको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमण टोलीमा रहेका राससका पत्रकार प्रकाश सिलवालले मोदीसँग भेटवार्ताको कार्यतालिका नरहेको जानकारी दिए।
‘भारत भ्रमण तय भइसकेको अवस्थामा भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको भेटवार्ताको कार्यक्रम चीनमा छैनु, सिलवालले भने।
शनिबार चिनियाँ राष्ट्रपति सीसँगको द्वीपक्षीय भेटका क्रममा प्रम ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा नेपालको आपत्ति प्रकट गरेका थिए। भारतीय प्रम मोदीसँग भेटवार्ता भएको अवस्थामा ओलीले सो विषय उठाउने अपेक्षा गरिएको थियो।
यसैबिच चीनले लिपुलेक सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त विवाद नेपाल र भारतले द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने धारणा राखेका हुन्।
प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सचिव राईले प्रधानमन्त्री ओलीले लिपुलेकको विषयलाई दृढतापूर्वक उठाएको जानकारी दिए।
‘सन् १८१६ को सुगौली सन्धिले नेपालको सीमा निर्धारण गरेको हो। सो अनुसार महाकाली पूर्वका सबै भूभागहरू नेपाली भूभाग हुन्,’ सचिव राईले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘त्यो भूभाग प्रयोग गर्ने गरी भएको चीन-भारत सम्झौताप्रति नेपालको आपत्ति छ भन्ने स्पष्ट धारणा राख्नुभयो।’
त्यसको जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपालको दाबीलाई कमजोर नबनाउने तर सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको सचिव राईले बताए।
‘उहाँको (राष्ट्रपति सी) को भनाइमा, नेपालको दाबीमा हाम्रो कुनै पनि प्रकारको सम्झौता वा कमी होइन। हाम्रो यो परम्परागत रूपमा नाका प्रयोग भइआएको हो, तर तपाईंहरूको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौं, तपाईंहरू दुई पक्षले समाधान गर्ने विषय हो भनेर बुझिदिनुहोला भन्ने खालको उहाँको भनाइ रह्यो,’ सचिव राईले भने।
राष्ट्रपति सीले नेपालको दाबीमा चीनले कुनै दक्खल नदिने बताएको राईले उल्लेख गरेका छन् । परम्परागत रूपमा त्यो नाका प्रयोग भएको हो भन्दै राष्ट्रपति सीले नेपाल– भारत बीचको सीमा विवादमा चीन कुनै पक्ष बन्न नचाहेको जनाएको नोटमा उल्लेख छ । सीको प्रतिउत्तर भन्दै नोटमा राईले लेखेका छन्, ‘सीमा विवाद तपाईँहरू दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रो तर्फबाट कुनै कमी हुँदैन । त्यसलाई कमजोर गर्न कुनै सम्झौता गरिएको होइन, त्यसलाई बुझिदिनु होला ।’
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा सीसँगको उक्त भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नु भएको छ,’ परराष्ट्र सचिव अमृत राईलाई उद्धृत गरिएको प्रेस नोटमा भनिएको छ, ‘यस मामिलामा चीनले सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।’
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा छन्।
प्रतिकृया दिनुहोस