• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

माधवकुमार विरुद्ध झलनाथ र घनश्यामको गुटबन्दी !

काठमाडौं । अन्तरकलह उचाईमा रहेको विपक्षी दल नेकपा एकीकृत समाजवादी भित्र ध्रुविकरण बढीरहेको छ ।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सार्वजनिक रुपमा आरोपप्रत्यारोप चलिरहेका बेला महासचिव घनश्याम भुसालले पनि पक्षधरता देखाएको कतिपय नेताहरु बताउँछन् । 

काठमाडौंको बानेश्वर क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूले छुट्टै भेला गरे ।

पूर्वसचिव जीवनराम श्रेष्ठको अगुवाइमा भएको यो भेलामा झलनाथ र घनश्याम भने उपस्थित थिएनन्।

पूर्वसचिव समेत रहेकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, वरिष्ठ नेता घनेन्द्र बस्नेत, हरि पराजुली, विजय पौडेल, लक्ष्मण लम्साल, नरेश शाहीलगायत ५० जनाजति केन्द्रीय नेताहरू सहभागी भए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि सम्मानित नेता खनालले अध्यक्ष नेपाललाई लक्ष्य गर्दै पद छाड्न भनेका थिए। त्यसपछि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच आरोप-प्रत्यारोप नै भएको थियो।

एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्षबीच मतभेद छ। मतभेदकै कारण युवा संघ र अनेरास्ववियूमा समानान्तर कमिटीसमेत बनेका छन्। अब केन्द्रीय तहमै मतभेदको संकेत देखिएको छ। 

पार्टीले भदौ २५ गते सचिवालय, २६ गते स्थायी कमिटी र २७ देखि केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यसकै तयारीका लागि झलनाथ र घनश्याम पक्षले बेग्लै भेला गरेका हुन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर