• २०८२ भदौ २३ सोमबार
  • Monday, 8 September, 2025

अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेहरु बढ्दै

अमेरिकाको रोजगारी बजारमा सुस्तता देखिएको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा रोजगारीको संख्यामा आएको कमीले चिन्ता बढाएको छ।

श्रम मन्त्रालयका अनुसार, अगस्ट महिनामा अमेरिकामा जम्मा २२ हजार नयाँ रोजगारी थपिएका छन्, जुन अपेक्षाभन्दा निकै कम हो। यसले गर्दा बेरोजगारी दर ४.२ प्रतिशतबाट बढेर ४.३ प्रतिशत पुगेको छ।

श्रम मन्त्रालयले मे र जुन महिनाको प्रारम्भिक अनुमानभन्दा नयाँ रोजगारी धेरै कमजोर भएको जनाएको थियो। पछिल्लो अनुमानअनुसार, जुन महिनामा त अमेरिकाले रोजगारी गुमाएको देखिएको छ। सन् २०२० को जुन महिनापछि अमेरिकामा रोजगारी गुमेको यो पहिलो पटक हो।

यसैगरी, अगस्ट २०२३ देखि अगस्ट २०२५ सम्मको मासिक गैर-कृषि रोजगारी वृद्धिदरलाई हेर्दा, महामारीपछि मासिक वृद्धिदर लगातार कमजोर हुँदै गएको देखिन्छ। विश्लेषकहरूका अनुसार, जनसंख्या वृद्धिसँग तालमेल मिलाउन अमेरिकालाई मासिक करिब ५०,००० नयाँ रोजगारी आवश्यक पर्छ, जुन पहिलेको स्तरभन्दा निकै कम हो।

रोजगारी बजारमा समस्या बढ्दै गएकोले अमेरिकी केन्द्रीय बैंक (फेड) ले यसै महिनाको बैठकमा ब्याजदर कटौती गर्ने सम्भावना बढेको लगानीकर्ताहरूले बताएका छन्। रोजगारीमा आएको कमीको कारणले बेरोजगारी भत्ता दाबी गर्नेहरुको संख्या पनि बढेको छ। बेरोजगारी दर अक्टोबर २०२१ पछि सबैभन्दा उच्च देखिएको रिपोर्टहरूले देखाएका छन्।

अगस्ट महिनाको सुस्त तथ्यांक सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्यांक ब्युरोकी प्रमुखलाई बर्खास्त गरेका थिए। उनले ती तथ्यांक आफूलाई खराब देखाउने गरी बिगारेको दाबी पनि गरेका थिए।

विज्ञहरूले भने ट्रम्पको शुल्क र कडा आप्रवासन नीतिका कारण नयाँ रोजगारीमा समस्या आएको बताइरहेका छन्। शुल्क र कडा आप्रवासन नीतिले कम्पनीहरूको लागत बढाउने र अनिश्चितता सिर्जना गर्ने चेतावनी विश्लेषकहरूले दिँदै आएका छन्।

ट्रम्प प्रशासनले हजारौं सरकारी कर्मचारीलाई पनि बर्खास्त गरेको छ। श्रम मन्त्रालयका अनुसार, गत महिना मात्र संघीय सरकारले १५,००० रोजगारी कटौती गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर