• २०८२ भदौ २० शुक्रबार
  • Friday, 5 September, 2025

सामाजिक सञ्जाल बन्दबारे अमरेशकुमार: ‘विनाश काले विपरीत बुद्धि’

काठमाडाैं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन्।

उनले सरकारको यो कदमलाई ‘विनाश काले विपरीत बुद्धि’ को संज्ञा दिए। यसले नागरिकको सूचनाको हकलाई कुण्ठित गर्ने र युवाहरूलाई सडकमा आउन बाध्य पार्ने उनको भनाइ थियो।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सिंहले सूचना र सञ्चारको युगमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रतिगामी भएको बताए। ‘यो सरकार नियम-कानुनले चल्छ कि महासचिव र राजनीतिक सल्लाहकारको आदेशले चल्छ, बुझ्न सकिएन,’ उनले भने।

उनले सामाजिक सञ्जाल जनताको सूचनाको पहुँचको सबैभन्दा सजिलो माध्यम भएको उल्लेख गर्दै यसको सदुपयोगितालाई नजरअन्दाज गर्न नहुने बताए। ‘सामाजिक सञ्जाल युवा र विद्यार्थीहरूका लागि अध्ययन सामग्री खोज्नेदेखि कुनै पनि घटनाबारे तत्काल जानकारी पाउने महत्त्वपूर्ण माध्यम बनेको छ,’ सिंहले भने, ‘सरकारले यसको दुरुपयोगको पाटो मात्र हेर्‍यो, तर सदुपयोगको पक्ष बिर्सियो।’

सरकार आफ्नो अलोकप्रियताबाट आत्तिएर यस्तो निर्णयमा पुगेको उनको आरोप थियो। उनले भने, ‘सरकार उल्टो गतिमा हिँडिरहेको छ। सुशासन र विकासतर्फ लाग्नुको सट्टा नागरिकको अधिकार खोस्न लागेको छ।’

यस निर्णयले युवाहरूलाई सडकमा आउन निम्तो दिएको भन्दै उनले यसको विरुद्ध सदनमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। ‘सत्तापक्षका केही ‘झोले’ सांसदबाहेक अधिकांशले यसको विरोध गर्नेछन्,’ उनले विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर