• २०८२ भदौ २२ आइतबार
  • Sunday, 7 September, 2025

एमाले अधिवेशनः ४ उपाध्यक्षले गरे ओलीको प्रतिवाद, संगठन विभाग प्रमुखकै विरोध

काठमाडौं ।काठमाडौं : पूर्व प्रतिबद्धता विपरित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न नदिएपछि मञ्चमै प्रतिवाद गरेका छन् । विधान महाधिवेशन अघि बसेको सचिवालय बैठकमा स्थायी कमिटी थापालाई फरक मत राख्न दिने निर्णय भएको थियो ।

सचिवालयको निर्णय अनुसार नै बिहीबार विधान महाधिवेशन उद्घाटनकै क्रममा ओलीले पनि राजनीतिक, विधान संशोधन, संगठनात्मक र आयोगहरूका प्रतिवेदन पछि थापाको प्रतिवेदन प्रस्तुत हुने कार्यसूची पेश गरेका थिए ।

महाधिवेशनको कार्यतालिकामा उनलाई १० मिनेट बोल्न दिने उल्लेख थियो । तर शनिबार कार्यतालिकाबाट उनले बोल्ने समय हटाइयो । आफूले बोल्न पाउनुपर्ने माग गर्दै उनी आफ्नो सिटमा करिब ३० मिनेट उभिए पनि समय दिइएन ।

अध्यक्ष ओलीको पूर्व घोषणा र पार्टी सचिवालय बैठकको निर्णय बमोजिम आफूले फरक मत राख्न पाउनुपर्ने अडान सहित कर्ण थापा भने हलमा एकोहोरो उभिए ।

एक पदाधिकारीका अनुसार थापालाई बोल्न नदिएपछि बरिष्ठ उपाध्यक्ष अनुसार ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए । ‘सचिवालयमा भएको सहमति हो । कर्ण थापालाई किन रोक्नु भएको भनेर तीनै जनाले मञ्चबाट प्रतिवाद गर्नुभयो । तर केपी ओलीसँग माइक थियो, उहाँले दिनु भएन,’ एक पदाधिकारीले भने, ‘त्यसपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि यसरी कसरी पार्टी चल्छ ? भनेर प्रतिवादन गर्नुभयो ।’

विधान संशोधन प्रतिवेदनमा संगठन विभाग प्रमुखकै असन्तुष्टि

यता एमालेको विधान संशोधन प्रतिवेदनप्रति संगठन विभागका प्रमुखले नै असन्तुष्टि जनाएका छन् । समूहगत छलफलको क्रममा स्थायी समिति सदस्यसमेत रहेका संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले मस्यौदाप्रति असहमति राखेका हुन् । उनले साधारण सदस्यसमेत थपिएकोमा असन्तुष्टि जनाएका हुन् । एमालेमा हाल संगठित सदस्य मात्र रहने व्यवस्था छ ।

उपाध्यक्ष विष्णु पौडेले विधान महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रतिवेदनमा संगठित र साधारण सदस्य रहने उल्लेख छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले शनिबार समूहगत छलफल गरेका हुन् ।

बागमती प्रदेशको समूहगत छलफलमा अधिकारीले असन्तुष्टि राखेको एक विधान महाधिवेशन प्रतिनिधिले जानकारी दिए । अधिकारी स्थायी समिति सदस्यसमेत हुन् ।

स्थायी समिति बैठक नराखिएकाले अधिकारीले समूहगत छलफलकै क्रममा असन्तुष्टि जनाएका हुन् । विधान महाधिवेशनअघि प्रतिवेदनहरू पारित गर्न बोलाइएको केन्द्रीय समिति बैठकसमेत स्थगित भएको थियो ।

यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखिनु दुखद : एमाले अनुशासन आयोग

एमाले अनुशासन आयोगले एमालेका नेताहरुले यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखाएको उल्लेख गरेको छ । ‘पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरू समेत देखिन कतैकतै थालेका छन् । जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा सार्वजनिकरूपमा दम्भ प्रकट भैरहनु दुखस्द कुरा हो,’ आयोगका अध्यक्ष बडालको प्रतिवेदनमा भनिएको छ ।

पार्टीमा सांगठनिक अराजकता चुनौतीकै रुपमा अघि बढेको प्रतिवेदनमा भनिएको छ । ‘…कतिपय नेताहरूबीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ । कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समते देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधिहरूले पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर