उपमहासचिव शर्माले भनेको आफैं भित्रको फोहोर को हो ?

काठमाडौं । जेनजीको आन्दोलनले राजनीतिक बृत्तमा नयाँ तरंग सृजना गरिरहेका बेला त्यसको असर नेकपा माओवादी केन्द्रमा पनि परेको छ । माओवादी भित्र पनि नेतृत्व परिवर्तन, सुधार र पुस्तान्तरणको कुरा चलिरहेको छ ।
यस्तो बहसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको औचित्यमाथि लगातार प्रश्न उठाइरहेका छन् उपमहासचिव जनार्दन शर्मा । उनले पार्टी भित्र र बाहिर पनि यसबारे लेख्ने र बोल्न गरिरहेका छन् ।
आज फेरि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरे । शर्माले अब आफैभित्रको फोहोर सफा गर्ने संकल्प नगरे यस प्रकारका क्षतिको पुनरावृत्ति भइरहने बताएका छन्। आइतबार जलेका राष्ट्रिय संरचना हेरेपछि शर्माले यस्तो बताएका हुन्।
‘आज मैले जलेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, अदालत र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनीलगायतका क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरेँ,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौँ।’
रूपान्तरणमार्फत सोचमा नै परिवर्तन गरेर मात्र यस प्रकारका क्षतिको पुनरावृत्ति हुनबाट बच्न र बचाउन सकिने शर्माले लेखेका छन्। उनले अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौँ भने पनि त्याे काे हाे भन्ने उनले खुलाएका छैनन् ।
प्रतिकृया दिनुहोस