जेनजी आन्दोलनबारे प्रचण्ड: नेतृत्व छोड्ने घोषणा (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनलाई समयमैं विवेकपूर्वक सम्वोधन गर्न नसक्दा देश तरल अवस्थामा प्रवेश गरेको बताउनुभएको छ ।
संविधान दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले यो घडीमा लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमीहरुलाई एकताबद्ध हुन अपीलसमेत गर्नुभयो । भदौ २३ को आन्दोलन र २४ गतेको विध्वंशकारी घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गर्न प्रचण्डले माग गर्नुभएको छ ।
उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । दश वर्षअघि संविधान जारी गर्दा माओवादीले राखेको दश बुँदे फरक मत र अहिले जेन-जीले अघि सारेको एजेण्डा एउटै भएको प्रचण्डको धारणा छ ।
‘त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नुपर्यो, तर, हामीले हाम्रा असहमतिहरुलाई लिखित फरक मतका रुपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं’, उहाँले भन्नुभयो, ‘अहिले जेन-जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबैभन्दा मुख्य फरक मत थियो, पैसाको खोलो बग्ने र भुइमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले माओवादीको फरक मतलाई त्यतिबेला स्वीकार गरेर कार्यान्वयन गरिएको भए आजको परिस्थिति अर्कै हुने बताउनुभयो । भन्नुभयो,‘परम्परागत दलहरुले परिवर्तनको आवाज सुन्न ढिला गर्दा दस वर्ष लामो जनयुद्धमा ठूलो क्षति भयो र अहिले जेन–जी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउन पर्यो ।’
देश र जनताविरुद्ध रचिएका षड्यन्त्र अझै समाप्त नभएको प्रचण्डको ठहर छ । अन्तरिम सरकारलाई असफल बनाउन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास सुरु भएको दावी गर्दै थप्नुभयो, ‘हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं।’
पार्टी पुर्नगठनको बहस चलिरहेको पृष्ठभूमिमा प्रचण्डले विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे छलफल भइरहेको पनि जानकारी दिनुभएकाे छ । ‘हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं, हामीले निश्चित बिधि र प्रक्रियामा नेतृत्व हस्तान्तरण बारे छलफल गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
प्रतिकृया दिनुहोस