• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

चुनावअघि नै समाजवादी मोर्चालाई पार्टीमा रुपान्तरण गर्ने तयारी

काठमाडौं । माओवादीसहितका दलहरू समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने तयारीमा छन् । दसैँका बिचमा एकताको घोषणा गर्ने अन्तिम तयारीमा माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा जुटेका छन् । तर, यसबारे मोर्चाका नेताहरू औपचारिक रूपमा बोल्न खोज्दैनन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न तयार राजनीतिक प्रतिवेदनमा उनले पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव गरेका हुन् । 

एकताको विषयमा समाजवादी मोर्चाका घटकहरूबिच पटक–पटक छलफलसमेत भइसकेको छ । मोर्चाका घटक एकीकृत समाजवादी, नेकपा र नेसपाले पनि विचार मिल्ने दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरिसकेका छन् । स्रोतहरूका अनुसार यही दसैँमा एकता घोषणा गर्ने र आगामी मंसिरमा एकता महाधिवेशन गर्ने गृहकार्य छ ।

‘समाजवादी मोर्चालाई एकतामा रूपान्तरण गर्न विशेष पहल गर्ने, विचार मिल्ने अन्य दलसँग पनि एकताका लागि पहल गर्ने भन्ने हो,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउन पनि पहल गर्ने विषय छ ।’

एकीकृत समाजवादीको गत शुक्रबार बसेको सचिवालय बैठकले चुनौतीपूर्ण अवस्थामा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिको उपलब्धिको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेको थियो । ‘हाम्रो पार्टीले अँगालेको नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पहलकदमी अघि बढाउने निर्णय भएको छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने ।

विप्लव नेतृत्वको नेकपाले पार्टी एकताको पहल गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । नेकपाको केन्द्रीय समिति बैठकले बनाएको समितिमा नेताहरू अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य छन् । ‘परिस्थिति फेरिएको छ । विचार, सिद्धान्त मिल्ने दलहरू एक भएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि हामी एजेन्डा बनाएर छलफल गर्छौँ,’ उनले भने ।

नेसपा अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा छलफल हुँदै आएको बताउँदै वर्तमान परिस्थितिमा एकताको आवश्यकता झन् बढेर गएको बताए । उनले एकता र सहकार्यको नीतिअनुसार पार्टी अगाडि बढ्ने बताए । ‘समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा पहिलेदेखि नै छलफल हुँदै आएको हो । अहिलेको अवस्थामा एकता र सहकार्यको झन् बढी आवश्यकता भएको छ,’ उनले भने ।

 माओवादी केन्द्रीय समितिका एजेन्डा तय 
माओवादीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति भंग गरी महाधिवेशनमा जानेसहितका एजेन्डा तय गरेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस, प्रतिवेदनमाथि छलफल, विशेष महाधिवेशन, प्रतिनिधिसभा निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्धलगायत एजेन्डा तय भएको छ । प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने प्रस्ताव पनि बैठकमा पेस हुनेछ । आगामी महाधिवेशनमा एकता महाधिवेशन हुने माओवादी स्रोतले जनाएको छ । केन्द्रीय समिति विघटन र महाधिवेशनको प्रस्ताव गरिए पनि मिति भने प्रस्ताव भएको छैन । केन्द्रीय समिति बैठकले मिति तय गर्नेछ । 

बैठकमा प्रचण्डले जेन–जी आन्दोलनको माग ठिक भए पनि साम्राज्यवादी र दलालहरूले घुसपैठ गरेको बताएका छन् । ‘जेन–जीका माग जायज थिए । उनीहरूले शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए । तर, पछि साम्राज्यवादी र दलालहरूको घुसपैठ भयो । जसको कारण यो परिणाम आयो । अब हाम्रो मुख्य लडाइँ राष्ट्रिय स्वाधीनताका लागि हुनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने । छलफलका लागि प्रदेशगत रूपमा समूह बनाइनेछ । समूहगत छलफलको निष्कर्ष हलमा प्रस्तुत हुने र अध्यक्षले संश्लेषण गर्दै बैठक समापन गर्ने तयारी छ । 

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केन्द्रीय समिति बैठकको समय र फरक मतबारे प्रश्न उठाएका छन् । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बुधबार बसेको स्थायी समिति बैठकमा बैठक लम्ब्याउनुपर्ने र फरक मत राख्न पाउनुपर्ने विषय दुवै नेताले उठाएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले नौवटा एजेन्डा पेस गरेका थिए । तर, बैठक बिहीबार एक दिन मात्रै बस्ने भनेपछि श्रेष्ठ र शर्माले समय नपुग्ने भन्दै प्रश्न उठाएको एक स्थायी समिति सदस्यले बताए । श्रेष्ठले फरक मतमाथि छलफल गरेर जानुपर्ने मत राखेका छन् । ‘बैठक बोलाएपछि गहन छलफल हुनुपर्छ । फरक मतलाई पनि स्थान दिनुपर्छ । हतारमा बैठक बोलाउने र सक्ने कुरा ठिक होइन,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने ।

शर्माले गत पदाधिकारी बैठकमा वरिष्ठ नेतालाई संयोजक बनाएर विशेष महाधिवेशनमा जानुपर्ने लिखित प्रस्ताव गरेका थिए । स्थायी समिति बैठकमा पनि उनले उक्त विषय उठाएका छन् । र, गहन छलफल गर्न एक दिनको समयले नपुग्ने उनको जिकिर छ । ‘एक दिनले भ्याइँदैन । बैठक दुई दिन गरौँ । सबै विषयमा गहन छलफल गरौँ । कम्तीमा फरक मतमाथि छलफल हुनुपर्छ,’ शर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने । तर, प्रचण्डले समूहगत रूपमैै धारणा बनाएर राख्न सकिने बताएका छन् । ‘केही छ भने समूहगत रूपमा छलफल गरेर हलमा ल्याउन सकिन्छ । बैठक एक दिनभन्दा बढी लम्ब्याउने अवस्था छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । प्रचण्डले प्रस्ताव गरेका एजेन्डा अनुमोदन गर्दै स्थायी समिति बैठक समापन गरिएको छ । 

बाबुरामले त्यागे अध्यक्ष
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्यागेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि भन्दै पद त्यागेका हुन् । ‘देशमा लोकतन्त्र त आयो, तर लोकतन्त्रलाई ड्राइभ गर्ने दलमा लोकतन्त्र आएन । त्यसले गर्दा समस्या आएको हो ।

राजनीतिक दललाई लोकतान्त्रीकरण गर्ने, रूपान्तरण गर्ने, शुद्धीकरण गर्ने र नेतृत्व पुस्तान्तरण तथा हस्तान्तरण गर्ने तथा जनताप्रति जवाफदेही बनाउन आवश्यक छ,’ बैठकमा भट्टराईको भनाइ उद्धृत गर्दै प्रवक्ता कृष्ण शर्माले भने, ‘अहिलेको विद्रोह राजनीतिक दलको भ्रष्टीकरणविरुद्ध, राजनीतिक दलका नेतृत्वको सिन्डिकेटविरुद्ध, सत्तादोहनको विरुद्धको हो । पुराना शक्तिलाई विस्थापित गर्न नयाँ शक्तिलाई स्थापित गर्न जरुरी छ । हाम्रो पार्टी पनि सोहीअनुसार अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि म पद त्याग्छु ।’ 

शर्माका अनुसार भट्टराईले अध्यक्ष पद त्यागेपछि दुर्गा सोवको संयोजकत्वमा पार्टी पुनर्गठन गरेर केन्द्रीय समितिलाई विशेष महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । सोव संयोजक, शर्मा प्रवक्ता र सोनामसिंह स्याङ्तानलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । महाधिवेशनको मिति भने तोकिएको छैन । विचार मिल्ने दलहरूसँग एकता गर्ने नीतिसमेत नेसपा नयाँ शक्तिले लिएको छ । त्यसका लागि नेतृ मानुषी यमी भट्टराईको संयोजकत्वमा वार्ता संवाद समिति गठन गरिएको छ । ०८१ फागुनमा भएको महाधिवेशनमा नेत्र चापागाईंलाई पराजित गर्दै बाबुराम अध्यक्षमा निर्वाचित भएका थिए ।
नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर