• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

देउवा र खड्काका सम्पत्ति अनुसन्धान सुरु

काठमाडौँ । सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दीपक खड्काको सम्पत्तिसम्बन्धी अनुसन्धान सुरु गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालैको जेनजी आन्दोलनका क्रममा संकलित फुटेज र अन्य प्रमाणहरू परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको जनाएको छ।

विभागले आन्दोलनका क्रममा देउवा दम्पती र मन्त्री खड्काको घरमा आगजनीपछि स्थलगत निरीक्षण गरी केही प्रमाणहरू संकलन गरेको थियो। त्यसपछि थप प्रमाणहरू संकलन गरी परीक्षणका लागि प्रहरीलाई पठाइएको स्रोतको भनाइ छ।

शेरबहादुर देउवामाथि प्रधानमन्त्रीका रूपमा भूमिगत गिरोहलाई संरक्षण दिएको, आरजु राणा देउवा नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएको र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप रहेको छ ।

त्यस्तै, ऊर्जामन्त्री दीपक खड्कामाथि पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा आधारित निर्णय गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। आन्दोलनको क्रममा भेटिएका डिजिटल फुटेजदेखि खरानीसम्मका वस्तुहरू परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतको दाबी छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार प्रमाण नभेटिएसम्म मुद्दा दर्ता गर्न नमिल्ने प्रावधान छ । तर, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएमा स्वतः भ्रष्टाचारसम्बन्धी कारबाही प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर