ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमा दार्ता, हाेला कारबाही !

काठमाडौं । गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएको हिंसा र मानवीय क्षतिलाई लिएर वर्तमान सरकारले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध कानुनी प्रकृया थालेकाे छ।
आन्दोलनमा ज्यान गुमाएका चार जनाका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिएका छन् भने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको प्रतिवाद गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध ‘काउन्टर’ जाहेरी दिने तयारी गरेको छ।
मंगलबार दिउँसो जेन-जी आन्दोलनका क्रममा मारिएका पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीका परिवारले जिल्ला प्रहरी परिसर काठमाडौंमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध किटानी जाहेरी दिएका हुन्।
‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङसहितको टोलीले सहजीकरण गरेको थियो।
जाहेरीमा ओली र लेखकले आन्दोलनमा दमनकारी भूमिका खेलेको र मानवता विरुद्धको कसुर गरेको आरोप लगाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएको भएको पुष्टि गर्दै उक्त निवेदनलाई थप अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा पठाइने जानकारी दिए।
‘भदौ २३ र २४ गते भएका घटना जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले हामीले सबै सूचना र निवेदन उतै पठाएका छौं,’ उनले भने।
अनेरास्ववियुको ‘काउन्टर’ जाहेरीको तयारी
आफ्ना अध्यक्षविरुद्ध किटानी जाहेरी परेपछि एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ।
अनेरास्ववियुले मेयर बालेन शाह र अभियन्ता सुदन गुरुङलाई आन्दोलन भड्काएको, तोडफोड, आगजनी र प्रहरी हत्यामा भूमिका खेलेको आरोप लगाउँदै उनीहरूविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको हो।
यसअघि सुदन गुरुङको समूहले ओली र लेखकविरुद्ध जाहेरी दिने प्रयास गर्दा प्रहरीले लिन मानेको थिएन। तर, पछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेपछि जाहेरी दर्ता भएको हो।
एकातिर पीडित परिवार न्यायको खोजीमा छन् भने अर्कोतिर राजनीतिक दलहरू एकअर्कालाई दोषारोपण गर्दै कानुनी लडाइँमा उत्रिएका छन्।
प्रतिकृया दिनुहोस