• २०८२ असोज २२ बुधबार
  • Wednesday, 8 October, 2025

प्रचण्डसँग अध्यक्ष मागेर टाढिएका विप्लब पुगे ओलीको सम्पर्कमा

काठमाडौं । हुन त नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिव नेत्र विक्रम चन्दको पार्टीको शान्तपूर्ण राजनीतिमा पर्दापण नै एमाले अध्यक्ष केपी ओलीले गराएका हुन् ।

ओली प्रधानमन्त्री भएका बेला गिरफ्तार कार्यकर्ता छोड्ने, शान्तिपूर्ण राजनीति गर्न दिने जस्ता नाम मात्रैका ३ बुंदे सहमति गरेर चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । 

तर कालान्तरमा उनको केमेष्ट्रि ओलीसँग मिलेन । विस्तारै उनी प्रचण्डको प्रशंसक भए । त्यतिबेला माओवादी केन्द्रसँग महासचिवको वार्गेनिङ गर्दै पार्टी एकताको तयारीमा थिए । माओवादी अध्यक्ष प्रचण्डपनि विल्पवलाई मख्ख पर्दै आफ्नै पार्टीका भन्दा बाहिरकाले आफ्नो संरक्षण गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिन भ्याउँथे । 

उनीहरुको यो सम्बन्ध पनि दिगो भएन । अहिले फेरि उनै विप्लव र प्रचण्डको सम्बन्ध चिसिएको छ भने विप्लव ओलीसँग नजिक पुगेको उनकै पार्टीका श्रोतहरु बताउँछन् । 

माओवादी केन्द्रले विचार मिल्ने वामदलहरुसँग एकताको निर्णय गरेपछि अध्यक्ष प्रचण्ड र विप्लवबिचन निर्णायक वार्ता भएको थियो । हुन त त्यसअघि प्रचण्ड एकताको प्रस्ताव लिएर विप्लवको घरमै पनि पुगेका थिए ।

ती भेटहरुमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई पार्टीमा रुपान्तरण गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । पूरै मोर्चासँग तत्काल कुरा नमिलेमा चन्द नेतृत्वको नेकपासँग मिलेर जाने उनको प्रस्ताव थियो । संगठनात्मक रुपमा प्रचण्ड विप्लवका लागि महासचिवको अफर गर्ने अवस्थामा थिए ।

सुरुवाती चरणमा विप्लव त्यसका लागि तयार भएपनि जेनजी विद्रोहपछि विप्लव भड्किएको माओवादी केन्द्रका नेताहरुको बुझाई छ । 

प्रतिस्पर्धात्मक राजनीतिमा आउन र चुनावमा भाग लिएर अघि बढ्न तयार भएका विप्लव जेनजी आन्दोलनपछि भने आफैं अध्यक्ष बन्नु पर्ने प्रस्तावसहित अघि बढे । अध्यक्ष प्रचण्डले महासचिव दिने आश्वासन दिएपनि उनले नमानेको र पार्टी अध्यक्ष माग गरेको माओवादीका प्रचण्ड निकटका केही नेताहरु बताउँछन् । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकतालाई बलियो बनाएको निष्कर्ष सहित उक्त प्रस्ताव अगाडि सारेको हो ।

भदौ २३–२६ मा केन्द्रीय समिति बैठक बसिरहेको बेला जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो । त्यसक्रममा पुराना दलका पार्टी कार्यालय, नेताका निजी निवास लगायत सार्वजनिक सम्पत्तिमाथि आक्रमण, आगजनी र तोडफोड भएको थियो ।

जेनजी विद्रोह पछिको अवस्थाबारे संश्लेषण गर्न नेकपाले असोज २५ गते स्थायी समिति, २६ र २७ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने गरी प्रस्ताव लैजाने तयारी भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

पुरानै दल, नेतृत्व र कार्यशैलीबाट कम्युनिस्ट पार्टी अगाडि बढ्न नसक्ने वस्तुगत र घटनाक्रमले पुष्टि गरेको विश्वकर्माले जिकिर गरे ।  तर केही स्राेतहरूले चन्द अहिले प्रचण्डसँग टाढा पुगेकाे बताएका छन् ।

यता नेकपा(माओवादी केन्द्र)को असोज ९ र १० गते बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेकपासहित समाजवादी मोर्चाका दलहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । सोही क्रममा माओवादीले केन्द्रीय समिति विघटन गरी मङ्सिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय नै गरेको थियो ।

‘राष्ट्रिय स्वाधीनता र  लोकतन्त्र गम्भीर सङ्कटमा रहेको वर्तमान सन्दर्भमा विशेष महाधिवेशन घोषणासम्बन्धी मूल स्पिरिटलाई ध्यानमा राख्दै समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सँगसँगै अगाडी बढ्नेछ’, बैठकले अनुमोदन गरेको प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

माओवादीको बैठकले एकतासम्बन्धी गरेको निर्णय लगत्तै प्रचण्ड र विप्लवबिच असोज १४ गते ललितपुरको हात्तीवनमा छलफल भएको थियो । छलफलमा महासचिव विप्लवले नेकपाकै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव गरेको प्रवक्ता विश्वकर्माले दाबी गरे ।  

‘प्रचण्डसँग पनि हामीले यही प्रस्ताव राखेका छौँ । हाम्रो तर्फबाट वामपन्थी एकता र ध्रुवीकरण गर्न तयार छौँ । तर माओवादी त्यो ढंगबाट तयार भएको देखिँदैन । पार्टी एकताको लागि माओवादी तयार भएमा तत्काल एकता हुन सक्छ’, उनले भने ।

महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको स्पष्ट पारेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्–‘नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ । जेनजी विद्रोहले यसको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको छ । इतिहास कहिले काहीँ नेतृत्वको बन्धन बन्छ । अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का छैन । तर यो काम जति महान् छ त्यति नै कठिन पनि छ ।’

जेनजी विद्रोहपछि माओवादी, एकीकृत समाजवादीभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस जोडतोडले उठे पनि विप्लवलाई नेतृत्व स्विकारेर पार्टी एकता गर्ने पक्षमा नेताहरू देखिँदैनन् । 

उता नेकपा एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वकाे नेसपासँग माअेावादी एकता भने लगभग टुंगाे लागेकाे छ । नयाँ दलकाे नाम नेकपा समाजवादी राख्नेसम्मकाे सहमति भएकाे स्राेतकाे दावी छ । 

पार्टीको नाम नेकपा(समाजवादी केन्द्र) राख्ने सहमति भएको चार दलबिच सहमति भएको महासचिव रमेशप्रसाद यादवले दाबी गरे । यादवका अनुसार पार्टीको झण्डा हँसिया हथौडा अङ्कित कम्युनिस्ट पार्टीकै राख्ने सहमति भएको र चुनाव चिन्हमा सहमति हुन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर