कप्तानी भूमिकामा फर्किए सन्दीप
काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तानीमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको छ ।
सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । उनले २०२२ को अगस्ट ३० मा पछिल्लो पटक नेपालका लागि कप्तानी गरेका थिए । केन्या भ्रमणमा केन्यासँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज लागेका थिए ।
तर केन्याबाट वेस्ट इन्डिज नपुग्दै सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो । त्यसपछि रोहितले नेपालको कप्तानी गर्दै आएका थिए । फेब्रुअरीमा भारतमा भएको ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको ट्वान्टी–२० कप्तान बनाइएको थियो ।
दीपेन्द्र ट्वान्टी–२० को कप्तानमा यथावत् रहने छन् भने सन्दीपले एकदिवसीयमा नेपालको नेतृत्व गर्नेछन् । सन्दीप २०२२ मै यसअघि पहिलो पटक कप्तान बनेका थिए र उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा १४ खेलमा ४ खेल मात्र जितेको थियो । नेपालमा त्यसमा ९ खेलमा पराजित भएको थियो भने एक खेल ‘टाई’ भएको थियो ।
रोहितले केन्या भ्रमणमै ५० ओभरको तीन खेलको शृंखलामा पहिलो पटक कप्तानी गरेका थिए, तर त्यो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन । रोहित नेपालका सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले ६३ खेलमा ३१ मा जित हात पारेको थियो भने ३० मा पराजय भोगेको थियो । दुई खेल रद्द भएका थिए ।
रोहितको कप्तानीमा नेपालले २०२३ मा क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेलमा विजय हात पार्दै सोझै विश्वकप छनोटमा पुगेको थियो । यही दौरान नेपालले घरेलु भूमिमा आयोजित एसिया कप छनोट प्रतियोगिता जितेको थियो र पहिलो पटक एसिया कप खेलेको थियो । रोहितको कप्तानीमा नेपालले एसिया कपमा पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो ।
तर पछिल्लो समय नेपालले विशेषगरी एकदिवसीय संरचनामा निकै कमजोर प्रदर्शन गर्दै आएको छ । हालै मात्र नेदरल्यान्ड्स भ्रमणमा नेपाल लिग २ मा डच र नामिबियाविरुद्धको २–२ खेल गरी सबै चार खेलमा पराजित भएको थियो । नेपालले लिग २ मा ४–० को ‘क्लिन स्विप’ हार बेहोरेको दोस्रो पटक थियो । दुवै हार विदेशी भूमिमा रहेको छ । यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लिग २ को सबै चार खेलमा पराजय बेहोरेको थियो ।





2026-08-08-06-41-03.jpeg)

प्रतिकृया दिनुहोस