• २०८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026

आइसक्रिम र मःम बेच्ने भन्दा प्रहरी पेसा अलि खरो र छुच्चो हुन्छ– महानिरीक्षक कार्की

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी संगठनलाई रणनीतिक ढंगबाट परिचालित गरिएको बताएका छन् । उनले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्‍याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गरे ।

महानिरीक्षक कार्कीले भने, ‘आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ ।’

प्रस्तुत छ, मुलुकको शान्ति सुरक्षा, सुरक्षा संगठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौती, प्रहरीको व्यवहार, ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ बाट समाजमा परेको असरलगायत समसामयिक विषयमा महानिरीक्षक कार्कीसँग राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक नारायण न्यौपानेले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

देशमा शान्ति सुव्यवस्था एवं अमनचयन गर्ने जिम्मेवारीमा रहेको नेपाल प्रहरीको प्रमुखका हैसियतले भन्नुपर्दा मुलुकको शान्ति सुरक्षाको अवस्था अहिले कस्तो छ ?

नेपालको संविधान र प्रचलित ऐन, कानुनको अधिनमा रही नेपाल प्रहरी प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा रहेको छ । मुलुकको आन्तरिक शान्ति सुरक्षा र सार्वजनिक अमनचयन कायम राख्दै विपद् व्यवस्थापन र नागरिकको परिवर्तनको आकाङ्क्षाको विशिष्टलाई समेत मध्यनजर गरी काम गर्दै आएको छ । अहिले समग्रतामा शान्तिसुरक्षाको स्थिति सामान्य छ । यद्यपि, शान्तिसुरक्षालाई प्रभाव पार्ने, खलल पुर्याउने गतिविधि गर्ने आपराधिक प्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पनि देखिन्छ । त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ ।

मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्तिसुरक्षा खल्बल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ । मुलुकमा सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुने ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘डिप–फेक’ र ‘हेट–स्पिच’ले कतै नागरिकका सुसम्बन्ध खलबलिन्छन् कि भन्नेमा पनि प्रहरी त्यत्तिकै सचेत रही आफ्नो जनशक्तिलाई सुविचारित किसिमले परिचालन गरेको छ । शान्तिसुरक्षालाई अझ सुदृढ तुल्याउँदै नागरिकलाई विश्वास, भरोसा र आफ्ना निर्णय सहज रूपमा गर्न सक्ने वातावरण सृजना गर्न प्रहरी अत्यन्त सचेतका साथ अगाडि बढेको छ ।

तीन तहका सरकार तथा अन्य सुरक्षा निकायसँग प्रहरीको सहकार्य, सहयोग र समन्वय कस्तो रहेको छ ?

नेपालमा मात्र होइन, संसारभरि नै राज्यका संयन्त्र मजबुत हुनुपर्छ । त्यस्ता संयन्त्रको समन्वयात्मक र साझेदारीपूर्ण क्रियाकलापले शान्तिसुरक्षालाई सुदृढ तुल्याउने हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा गृहसहित सरोकारवाला मन्त्रालयका बीचमा नियमित सम्पर्क र समन्वय छ । मुलुकको विशिष्ट अवस्थामा सबै निकायका बीचमा छलफल गरी सुरक्षाका रणनीति तय गर्दै अगाडि बढेका छौँ । समग्रतामा सबै संयन्त्रको समन्वयात्मक परिचालनले नै सुरक्षा व्यवस्था सामान्यीकरण हुँदै आएको छ । आगामी दिनमा पनि प्रधानमन्त्रीज्यूको मार्गदर्शनबमोजिम शान्तिसुरक्षालाई मजबुत बनाउँदै नागरिकलाई राहत दिन र सहजीकरणमा सबै संयन्त्र लाग्नुपर्छ भन्ने भावनालाई आत्मबोध गर्दै सुरक्षा निकाय समन्वयका साथ परिचालित हुनेछ ।

प्रहरी संयन्त्र कार्यक्षेत्रमा अरोरात्र खटिएको छ, प्रहरीप्रतिको जनविश्वास र भरोसा कायमै छ तैपनि समाजमा हार्दिकता, सहिष्णुता र सामाजिक एकतामा खलल आएको हो कि भन्ने बुझाइप्रति यहाँको धारणा के छ ?

पछिल्लो दशकयता नेपाली समाज समग्रतामा कर्मवादभन्दा भौतिकतातर्फ उन्मुख भएको छ । अहिले भौतिकताका सामाजिक सञ्जालसहित थुप्रै उपयोग गर्ने विषयवस्तु छन् । धेरै मानिसलाई ती प्रविधि सहज रूपमा सित्तैमा प्राप्त भएका हुन् भन्ने लाग्छ । त्यस्ता प्रविधिको प्रयोगबाट सामाजिक सञ्जालमार्फत हुने गलत र भ्रामक सूचनाले विशिष्ट खाले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छ ।

तथापि, समाजको परिवर्तन यहाँमात्रै भएको होइन, संसारका सबै मानिसले नयाँ प्रविधिको प्रयोग गर्दै आएका छन् । सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्नुपर्छ भन्ने विषय विद्यालय तहदेखि नै सुस्पष्ट गर्दै लैजानुपर्छ । समाजलाई सेवावाद, कर्मवाद र हार्दिकतातर्फ लैजान सबै तह र तप्काको उत्तिकै भूमिका रहन्छ । नेपाली समाजलाई सही मार्गमा लैजादै कानुनी शासन स्थापना गर्न प्रहरी अहोरात्र खटिआएको छ । त्यस्ता प्रविधिको प्रयोगबाट हुने खरावीबारे समाजलाई सुसूचित गर्दै नागरिक–समुदाय–प्रहरी साझेदारीमार्फत काम गरिरहेको छ । आगामी दिनमा त्यसखाले गतिविधि न्यूनीकरण हुँदै जाने अपेक्षा छ ।

सुनसरी घटनाबाट उत्पन्न परिस्थिति र अवाञ्छित गतिविधि देशमा सदाका लागि अन्त्य गर्न के–कसरी काम गर्नुपर्छ भन्ने लाग्छ ?

नेपाली समाजको मेलमिलापपूर्ण, सद्भावपूर्ण र साझेदारीपूर्ण चरित्रका कारण सुनसरीबाट पश्चिमका जिल्लातर्फ जाँदै गरेको घटनालाई सबै नागरिकको शान्तिप्रतिको कामनाले समयमै स्थगन गर्न सकियो । पछिल्लो समय देखासिकीले हाम्रा आफ्ना मौलिक धार्मिक अनुष्ठानबाट विचलन हुन खोजेको भान हुन्छ । त्यहाँ जुन परिदृश्य देख्यौँ, धार्मिक सद्भाव र नागरिक सुसम्बन्ध नै खल्बलिन्छ कि भन्ने अवस्थालाई न्यूनीकरण गराउन सबैको भूमिका रह्यो ।

त्यो अत्यन्त महत्त्वपूर्ण विषय हो । नेपाली समाजको चरित्र र संरचनालाई मजबुत बनाउँदै मौलिक पहिचान तथा धार्मिक अनुष्ठानलाई सुदृढ तुल्याई नागरिकबीचको सुसम्बन्धलाई बढाउन सुरक्षा निकायको मात्रै भूमिका हो भन्ठान्नु त्रुटिपूर्ण हुनेछ । राजनीतिक, बौद्धिक र अध्यात्मिक नेतृत्वसँगै सबै तह र तप्काका महानुभावको यसमा उत्तिकै भूमिका रहन्छ । मुलुकलाई सत्मार्ग, विकास, उन्नति, सदाचार र भाइचारातर्फ डोहोर्याउने एउटा महत्त्वपूर्ण कडी राजनीति हो भने दोस्रो मुलुकको संस्कृति हो । राजनीति र संस्कृतिको सदाचारपूर्ण अनुपम सङ्गम बनाउँदा त्यस प्रकारका घटना न्यूनीकरण हुँदै जान्छन् ।

सामाजिक सद्भावलाई खलबल्याउन खोज्नेलाई कानुनी प्रक्रियाद्वारा अधिनमा ल्याउन सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ तर सुरक्षाकर्मीको मात्रै भूमिकाले हुन्छ भन्न मिल्दैन । सुरक्षाकर्मी, राजनीतिक दल र नेताहरु, अध्यात्मिक क्षेत्रका विशिष्ट महानुभाव जसले राष्ट्रलाई शान्त, सुखी, सदाचारपूर्ण र समृद्ध देख्न चाहनुहुन्छ, उहाँहरुबाट भूमिका खेल्नुपर्छ । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिएको, शान्तिपूर्ण बहादुर नेपालीको पहिचान भएको, सिर्जनशील नेपालीको विशिष्ट पहिचानको रूपमा तराईदेखि हिमालसम्म फैलिएको नेपालको विशिष्ट पहिचान दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ ।

त्यस प्रकारको सदाचारपूर्ण समाज निर्माण विद्यार्थीदेखि शिक्षकसम्म, घरपरिवारदेखि बौद्धिक व्यक्तित्वसम्म, धार्मिक पूजाआजादेखि विशिष्ट महानुभावसम्म, कार्यकर्तादेखि नेतृत्वसम्मले हृदयङ्गम गर्ने विषय हो । त्यसलाई गम्भीरतापूर्वक सबै तह–तप्काकाबाट महसुस गरिए नेपाल शान्ति, विकास, समृद्धिको पथबाट छिटो पाइला चाल्न सक्छ । त्यस कार्यमा शान्ति सुरक्षामा अग्रपङ्क्तिमा खटिने प्रहरीलाई सहज हुन्छ । कानुनले सबैलाई पक्रिएर तथा थुनेर कारबाही गर्नुभन्दा शान्तिपूर्ण समाजमा रही खुशी भएर बाँच्ने अवसर प्रदान गर्छ ।

पछिल्ला दिनमा कानुन कार्यान्वयन र जनताको जिउधनको सुरक्षामा खटिएका प्रहरीलाई सडकमै गालीगलौज, दुव्र्यवहार र अपमान गरिएको देख्दा सङ्गठन प्रमुखका हैसियतले यस्ता घटनालाई कसरी लिनुभएको छ ?

संसारभरि नै आइसक्रिम र मःम बेच्ने अथवा मिष्ठान्न स्वादन गराउनेभन्दा प्रहरी पेसा अलि खरो, क्रियाशील र छुच्चो हुन्छ नै । यो पेसाकै विशिष्टता हो । त्यसकारण नेपाल प्रहरीका सकल दर्जा मुलुकको संविधान, ऐन÷कानुनको अधीनमा रही आफ्नो भूमिका निर्वाह गर्ने क्रममा बाहिरबाट आउने आक्षेप, लाञ्छना, गालीगलौज व्यक्तिगत रूपमा होइन, नागरिकका असन्तुष्टि प्रस्फुटन हुन् भन्ने कोणबाट बुझ्छन् । तालिममा सिकाइएका ज्ञानका आधारमा निर्वाह गर्नुपर्ने भूमिकाको सन्दर्भमा सकल दर्जाको साझा बुझाइ हुन्छ तर पनि सबैले राम्रो बोली र असल व्यवहार गरिदिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । यसमा समाजले बोक्दै गरेका तथा सिर्जना गरेका कतिपय शैली र व्यवहारले असर तुल्याएको हुन्छ ।

असल नियतका साथ काम गरिदासमेत कसैले गाली गर्यो र लाञ्छना लगायो भने दुःखी नबनाउने त होइन, तर त्यसमा दुःख मानेर बसिराख्ने छुट भने प्रहरी, एम्बुलेन्स, अग्नि नियन्त्रक र चिकित्सकजस्तो विशिष्ट पेसाको मान्छेलाई नहुँदोरहेछ । त्यसकारण अत्यावश्यक सेवाका व्यक्तिको हैसियले हामीले हाम्रो पेसा सुरु गर्दा नै स्वाभाविक आउने विषय हुन् भनी त्यस्ता घटनालाई पचाउन कोसिस गर्छाैँ र पच्छ पनि । त्यस्ता विषय आउँदासमेत विचलित नभई मुलुकको शान्ति सुरक्षामा प्राप्त भूमिकामा खरो हुनुपर्छ भन्ने चेतना र नयाँ अभ्यासका घटना झेल्दाझेल्दै आएका विषय हुन् ।

महानिरीक्षकज्यू, सडकमा खटिने कतिपय प्रहरीबाट आर्थिक चलखेल हुने तर नागरिकमैत्री बोली व्यवहार भने नहुने भन्ने गुनासोका विषयमा यहाँको के भनाइ छ नि ?

हो, नागरिकको स्पन्दनलाई बुझेर प्रहरीले बोली र व्यवहार गर्नुपर्छ भन्ने बेलायती भनाइ छ । मूलभूत रूपमा प्रहरी सबै नागरिकसँग समान व्यवहार गर्दै, कानुनको समान प्रयोग गर्दै, ‘प्रिन्सिपल अफ इनोसेन्स’ का आधारमा काम गर्दै जाने हो । अर्कातर्फ सरुवा–बढुवा सहज, सहर र पायक पर्ने ठाउँ परोस् भन्ने एउटा मानवीय पक्ष हुनसक्छ । बढुवा व्यक्तिको विशिष्टता र सम्मानको विषय भएकाले स्वभाविक चाहना हुन्छ । सरुवा र बढुवाका अनुकूलताका स्वाभाविक चाहनासँगै प्रहरी नागरिकसँग असल, सबल, सक्षम, विशिष्ट र शिष्ट हुन जरुरी छ । नागरिकले जस्तोसुकै व्यवहार गरे तापनि प्रहरीले असल व्यवहार गर्नुपर्छ भन्ने सिकाइबाट आजसम्म आइपुग्दा थुप्रै परिवर्तन भएको छ ।

जुनसुकै आन्दोलन वा घटनामा प्रहरीका सकल दर्जाले जोखिम मोलेर अग्रमोर्चामा रही अहोरात्र खटिन परे तापनि त्यस अनुसारको सेवा–सुविधा नपाएपछि पछिल्लो समय राजीनामा दिने बढ्दो प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ?

विगतमा नेपालको फौजी अर्थात् सेना र प्रहरीलाई आकर्षक सेवाको रूपमा लिने गरिएकामा पछिल्लो समय यसप्रतिको आकर्षण घटेको भर्नाबाटै स्पष्ट हुन्छ । केही समय मुलुक द्वन्द्वबाट गुज्रनुपरेको र सेवासुविधाको अवस्थाका कारण यो सेवामा आकर्षण पहिला जस्तो छैन । सेवासुविधा, सम्मान, बस्ने, खाने र विसर्जन गर्ने ठाउँ अनुकूल हुनुपर्छ । जोकोहीले पनि आफूलाई अनुकूल हुने ठाउँ खोज्नु भनेको पानीले सतह मिलाएजस्तै हो । हरेक नागरिकले आफूलाई के अनुकूल हुन्छ भन्ने हेर्छ नै । प्रहरी पेसा नभई सेवा र विशिष्ट जीवनशैली भएकाले विशिष्टतामा उसका सामान्य सुविधाका विषय अन्योन्याश्रित भएरै आउँछन् । पहिला समाज मुलुकभित्र सीमित थियो, अहिले विश्वव्यापीकरण भएका कारण देशाटन र तीर्थाटनमा निस्कने, अनि आफ्नो हितलाई मध्यनजर गरी अन्यन्त्र आकर्षक रोजगारीका लागि अवसर प्राप्त हुँदा राजीनामा दिनेजस्ता विषय अस्वाभाविक होइनन् ।

बरु यसमा यसो भन्न सकिएला हामीले तालिम प्रदान गरी क्षमतावान, योग्य, सीपयुक्त र काबिल बनाएका अधिकृत राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा नै ‘सेलेबल’ रहेछन् । उनी यहाँमात्रै होइन, अन्तरराष्ट्रिय रूपमा पनि प्रतिस्पर्धाबाट जान सक्दा रहेछन् भनी पहिचान दिने अवस्था पनि हो । सकल दर्जालाई देश र नागरिकमा समर्पित तुल्याएर टिकाइराख्न बिदा, जोखिमपूर्ण भत्ता, बासस्थान, उपयुक्त कार्यालय र समयानुकूल रासनको व्यवस्थाका लागि पहल भइरहेको छ ।

नेपाल प्रहरीको अझै पनि कतिपय स्थानमा भवन छैन, तत्कालै सबै बनाउन आर्थिक स्रोत अभाव छ, पछिल्लो समय स्थानीय तहसँग भवन निर्माणका लागि अनुरोध गरिएको हो ?

हाम्रो स्वीकृत दरबन्दीका दुई हजार ६६० प्रहरी एकाइ छन् । नागरिकको मागका आधारमा ९७० वटा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । त्यस्ता अस्थायी प्रहरी चौकीका कुनै भवन छैन । स्थायी रूपमा स्वीकृत दरबन्दीका युनिटभित्र पनि आधाभन्दा बढी भवनविहीन छन् । अहिलेको रफ्तार र लगानीले ती सबै प्रहरी एकाइ निर्माण सम्पन्न गर्न झन्डै १०५ वर्ष लाग्नसक्ने प्राविधिकको भनाइ छ । त्यसकारण नागरिकको सेवामा समर्पित प्रहरी दिनभरि ड्युटीबाट खटिएर बेलुकी एउटा छहारीमा कमसेकम अलि ढुक्कले बस्न सकोस् भन्ने हाम्रो अपेक्षा छ । अहिले २८५ वटा भवन अत्यन्त जर्जर, जोखिमपूर्ण, दयनीय भएकाले स्थानीय तहमार्फत ती भवन यथाशीघ्र छिटो बनाउने व्यवस्थान भएमा नागरिकको सुरक्षार्थ अहोरात्र खटिने प्रहरीले उत्प्रेरणा प्राप्त गर्न सक्नेछ । त्यसका लागि सङ्घीय मन्त्रालयले स्थानीय तहसम्म ‘सर्कुलर’ जारी गरेको छ । त्यसलाई स्थानीय तहले साँच्चिकै हाम्रै शान्तिसुरक्षाको लागि आवश्यक प्रहरी भएको महसुस गर्दै ती ठाउँमा आधारभूत संरचना निर्माणको व्यवस्थापन भएमा न्यूनतम् मानवीय सुविधाका व्यवस्थित गर्न उत्प्रेरणा हुनेछ ।

बदलिँदो सुरक्षा चुनौतीबीच प्रहरी प्रशासनलाई जवाफदेही, जनमुखी, पारदर्शी तुल्याई सेवाप्रति सदैव समर्पित बनाउँदै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा के–कस्ता नीति र कार्यक्रम अघि बढाउँदै हुनुहुन्छ ?

समाज पनि बदलिँदो छ, मानिस पनि बदलिँदो छ, प्रविधि पनि बदलिँदो छ । समाज विश्वव्यापीकरण र भूमण्डलीकृत भएको छ । यी सबैका बीचमा हाम्रा कार्यशैली र सोच पनि त्यत्तिकै परिवर्तन हुनुपर्नेछ । अहिले परम्परागत कार्यशैलीले आधुनिकताको सम्बोधन गर्न सक्दैन । त्यसकारण प्रहरीलाई उत्प्रेरित र स्वचालित रुपमा काम गराउन नयाँ कार्यसम्पादन सूचक तयार गरेर प्रहरी कमान्डरलाई दिएका छौँ । त्यो पूर्वानुमानयोग्य छ । त्यसमा उनीहरूले के काम गरे, कति अङ्क आउँछ भन्ने स्पष्ट हुन्छ । दैनिक मूल्याङ्कन भई मासिक रिपोर्ट कार्ड जान्छ । यसले कमजोर अङ्क ल्याउनेले अर्को महिनामा सुध्रिने प्रण गर्नुपर्ने हुन्छ । राम्रो ल्याउनेले आफ्नो राम्रो स्थितिलाई कायम राख्नुपर्ने हुन्छ । हामीले उत्प्रेरणा र सन्तुलनको दुवै कल्पना गरेका छौँ । त्यसले थुप्रै प्रहरी कर्मचारीलाई परिस्कृत गर्दै लगेको छ ।

अर्कातर्फ प्रविधिको प्रयोग गर्दै नागरिकले प्रहरी कार्यालयसम्म धाउन नपरोस् आफ्ना आवेदन र निवेदन घरबाटै दिन सकियोस् भनी अहिले सफ्टवेयरको विकास गरेर ‘नेपाल पुलिस एप’मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको छ । पछिल्लो समय आधुनिक किसिमका अपराध, प्रविधिगत अपराध, आर्थिक अपराध वृद्धि हुँदै गएपछि जनशक्तिलाई त्यसैमा परिचालन गर्नुपर्ने हुँदा त्यस्ता प्राविधिक प्रहरी कर्मचारी थप्न आवश्यक देखिएको छ । त्यस्ता जनशक्तिको क्षमता, चाहना, सीपका आधारमा छनोट गरी कार्यविधि पनि बनाएर राख्ने अर्को जमर्को गरिएको छ । अन्तरराष्ट्रिय रूपमा यहाँ बसेर बाहिर अपराध गर्न सक्ने, बाहिर बसेर यहाँ अपराध गर्न सक्ने हुनाले हाम्रा अन्तरराष्ट्रिय सम्बन्ध र इन्टरपोलको माध्यमले अन्तरराष्ट्रिय सम्बन्ध स्थापित भएको छ । ‘पुलिस–टु–पुलिस’को ‘अन्डरस्ट्यान्डिङ’को माध्यमले पनि अन्तरराष्ट्रिय सम्बन्ध भएको छ । अपराध नियन्त्रण गर्न सिङ्गापुर, कोरिया, भारतका मुलुकसित हाम्रो साझेदारी पनि हुने गरेको छ । अब हामी परम्परागत किसिमले होइन, प्रविधिका साथ काम गर्न जनशक्ति भर्नादेखि माथिल्लो तहसम्म सुधार प्रयासको तयारी गरेका छौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर