• २०८३ श्रावण २८ बिहीबार
  • Thursday, 13 August, 2026

सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासंघकाे माग

काठमाडाैं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ । 

समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध भएको महासंघको ठहर छ । महासंघले आज विज्ञप्ति जारी गर्दै बरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

‘महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै समाचारको विषयमा भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु’,विज्ञप्तिमा उल्लेख छ । 

नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकार श्रेष्ठलाई विना शर्त रिहाइ गर्नुपर्ने भन्दै काठमाडौं परिसर अगाडी लालटीन देखाएर विरोध प्रदर्शन गरिएको हो ।

काठमाडौं प्रहरी परिसर अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले रोकेको थियो । त्यसपछि पत्रकारहरु प्लेकार्ड प्रदर्शन गर्दै कालोपट्टी बाधेर परिसर बाहिर धर्नामा बसेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रता पुनर्वहाली गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्रौ, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूले हिजो राती पनि धर्ना दिएका थिए। 

जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारको विषयलाई लिएर प्रहरीले अध्यक्ष तथा प्रधान सम्पादक श्रेष्ठलाई हिजो साझँ ललितपुर, कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 

हिजो राती श्रेष्ठको घरमा छापा मारेको प्रहरीले आज बिहान जनआस्थाको कार्यालयमा खानतलासी गरी सञ्चार उपकरण जफत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर