संसदमा वर्षमानले उठाए सरकारमाथि दर्जन प्रश्न (भिडियाे)
काठमाडौँ । विपक्षी दलका नेता वर्षमान पुनले संघीय संसदकाे प्रतिनिधि सभामा सरकारमाथि दर्जनाैं प्रश्न उठाएका छन् । सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले बताएका छन् । मन्त्रीका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको सांसद पुनको भनाइ थियो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक अभिव्यक्ति दिएको बताए । ज्वरो आउँदा मन्त्रीले हेलिकोप्टर मगाउने, जनताले आफ्ना माग पूरा गरिदिनुस् भन्दा भोट फिर्ता लिनुस् भन्ने अभिव्यक्ति मन्त्रीबाट आउनु सही नभएको उनको भनाइ थियो ।
सुर्खेतमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा आउने विपद्मा उद्धार र राहतका लागि खटाउन राखिएको हेलिकोप्टर मन्त्रीको उद्धारमा प्रयोग भएको भन्दै सांसद पुनले प्रश्न उठाए । 'एकातिर विपद् छ । रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्याउनुपर्ने छ तर एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकोप्टर पठाइन्छ । रेस्क्युको काम हुँदैन । पुनःपस्थापनाको लागि काम हुँदैन र त्यहाँ पुर्याउने सामान पुग्दैनन् तर उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ । उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ,' पुनले भने, 'यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ ? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् र विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुस् ।'
मन्त्री पुनले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको प्रसंगमा यस्तो भनेका हुन् । उनी सुदूरपश्चिम गएको बेला बिरामी भएपछि सेनाको हेलिकोप्टरबाट बैतडीबाट धनगढी ल्याइएको थियो ।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति पनि सांसद पुनले असन्तुष्टि जनाए । 'गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ । जनताले विगतका प्रतिबद्धताको जवाफ खोज्छन् तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नुभएको छ,' सांसद पुनले भने, 'विपदमा देशभरि के भइरहेको छ ? प्रतिकार्य के भइरहेको छ? घटना कहाँ के भइरहेका छन् ? रेस्क्यु पुनर्निर्माण, पुनःस्थापना कामका लागि के तयारी भइरहेको छ ? राहत सामग्री कसरी पुर्याइएका छन् ? त्यस सम्बन्धि जानकारी गृहमन्त्रीले यस सदनलाई दिनुपर्छ ।'
ग्यास, मल, पासपोर्टका लागि जनता लाइनमा लाग्नुपर्ने अवस्था आएको तर सरकारले त्यसमा व्यवस्थापन गर्न नसकेको सांसद पुनको भनाइ छ । नयाँ राजनीतिक दल र नयाँ सरकार सञ्चालक भएको भन्दै शंकाको लाभ दिइएको तर त्यसअनुसार काम भने नभएको पुनको भनाइ थियो । 'अब तपाईंहरूले देशको नेतृत्व गरिरहनुभएको छ । अब पुरानो स्थापित पार्टीहरूलाई दोष दिएर हुँदैन । ग्यास, मल, पुराना पार्टीले गर्दा नपाइएको होइन,' पुनले भने ।
पुनले परराष्ट्र नीतिबारे पनि गम्भीर बन्नका लागि सरकारलाई सुझाव दिएका छन् । विश्वभर भूराजनीतिक द्वन्द्व चलिरहेको उल्लेख गर्दै उनले संयमित भएर परराष्ट्र नीति अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 'छिमेकसँगको नीतिमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको छैन । कहिले दलाई लामाको जन्मदिन मनाउन दिन्छ, कहिले तिब्बतसम्बन्धी सम्मेलन आयोजना गर्ने अनि आफै रोक्ने गर्छ,' पुनले भने, 'यो के हो ? दोहोरो चरित्र हो वा अपरिपक्वता हो ? हामीले छिमेक नीति स्पष्ट गर्नुपर्छ । संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट भनेको छ । त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।'







प्रतिकृया दिनुहोस