नेकपाका दुई मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका दुई मुख्यमन्त्रीले विश्वासको मत पाएका छन् । नेकपा एमालेसँगको भागबण्डा अनुसार कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश नेकपाले पाएका थिए । यी दुवैमा नयाँ मुख्यमन्त्री बनेर विश्वासको मत पनि प्राप्त गरेका हुन् ।
कर्णालीमा मंगलबहादुर शाही र सुपमा खगराज भट्टले दुवै प्रदेशमा बुधबार बसेको प्रदेश सभाबाट विश्वासको मत पाएका हुन् ।
कर्णाली प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत तटस्थ छ । शाहीलाई एमाले र नेकपाका सांसदले विश्वासको मत दिएका हुन् । ४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १०, नेपाली कम्युनिस्ट पार्टीका १४, कांग्रेसको १५, राप्रपाको १ जना सांसद छन् । नेपाली कांग्रेस र राप्रपाले विपक्षमा मतदान गरेका थिए ।
साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिनपछि संसदबाट विश्वासको मत लिएका हुन् ।
यसैगरी बुधबार नै सुदूरपश्चिम प्रदेश सभामार्फत त्यहाँका मुख्यमन्त्री खगराज भट्टले पनि विश्वासको मत पाएका छन् । प्रदेश सभा बैठकमा भएको मतदानमा भट्टको पक्षमा ३१ मत परेको छ । विश्वासको मतको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा ३१ र विपक्षमा १५ मत परेको जानकारी दिए ।
प्रदेश सभा बैठकमा ४६ सांसद उपस्थित थिए । भट्ट गत साउन २९ गते नेकपा एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत पाएसँगै प्रदेश सभाको बाँकी कार्यकालमा दुवै मुख्यमन्त्री परिवर्तन हुने छैनन् ।






प्रतिकृया दिनुहोस