मेयर आफैंले नगरपालिकामा तालाबन्दी गरेपछि
जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबसमेत रोकिएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका कार्यालयमा तालाबन्दी गरिएको छ।
नगरप्रमुख संजीवकुमार साहको नेतृत्वमा सोमबार नगरपालिका कार्यालयसहित सबै वडा कार्यालयमा तालाबन्दी गरिएको हो।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक, वित्तीय तथा विकास निर्माणका काम प्रभावित भएको नगरप्रमुख साहले जानकारी दिए। कर्मचारीले तीन महिनादेखि तलबभत्ता पाउन नसकेको उनको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृत पठाउन सम्बन्धित मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि दबाबस्वरूप तालाबन्दी गर्नुपरेको साहले बताए।
अधिकृत नहुँदा बैंक खाता सञ्चालनलगायत वित्तीय कामसमेत रोकिएको उनले बताए। दसैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा कर्मचारीले तलब नपाएको भन्दै समस्या तत्काल समाधान गर्न उनले माग गरेका छन्।
साहले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभए नगरभित्रका स्वास्थ्य तथा शैक्षिक संस्थासमेत बन्द गर्ने चेतावनी दिएका छन्। तालाबन्दी गरिएका नगरपालिका तथा वडा कार्यालयका चाबी भने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाइएको छ।






प्रतिकृया दिनुहोस