एमालेमा ओलीकाे आदेशः नेतृत्वकाे आलाेचना गरे कारबाही
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीतिविपरीत गएर विपक्षी राजनीतिक दलहरू रमाउने गरी अभिव्यक्ति दिने नेता तथा कार्यकर्तामाथि तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
पार्टीभित्र अब कुनै पनि प्रकारको अराजकता, गुटबन्दी र अनुशासनहीनतालाई स्थान नहुने बताउँदै उनले अनुशासनको घेराभित्र बस्न सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन्।
कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ का रूपमा लिन आग्रह गरे।
‘केन्द्रीय कमिटीको बैठकबाट पार्टीभित्रको सन्देह सकिएको छ, अब अराजकता र अनुशासनहीनता चल्दैन,’ ओलीले भने, ‘पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जो कोहीमाथि कारबाही हुनेछ।’
विगतमा भएका आन्तरिक कमजोरी र नेतृत्वविरुद्धका प्रयासलाई अब समीक्षाको विषय नबनाइने उल्लेख गर्दै उनले अनुशासन उल्लङ्घनमा अब कुनै छुट नहुने बताए।
‘पुनर्गठन भनेर अध्यक्ष हटाउने भनियो, यो अपराधपूर्ण क्रियाकलाप थियो। केन्द्रीय कमिटीअघिका यी सबै कुरा क्षमा भयो तर अब कसैलाई क्षमा हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं। यो चुनावको तयारीको बेला हो, पार्टीभित्र कोराकोर र हानहान गर्ने होइन।’
उनले नेताहरूलाई कार्यक्षेत्रमा नखटी ‘टुरिस्ट’ जस्तै नघुम्नसमेत सचेत गराए। राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिम्मेवारी पूरा नहुने भन्दै ओलीले भने, ‘अब नेता-कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ। आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट नीति एमालेसँग मात्र भएकाले आत्मविश्वासका साथ जनतामाझ पुग्नुहोस्।’







प्रतिकृया दिनुहोस