• २०८३ असोज १५ बिहीबार
  • Thursday, 1 October, 2026

अन्ततः अमेरिकी सेना इराक छोड्न तयार, के छ ताजा अवस्था?

एजेन्सी। इराकमा दुई दशकभन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट पनि बाहिरिन लागेको छ ।

अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन् । तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरानसमर्थित सशस्त्र समूहको प्रभाव बढ्नुका साथै इस्लामिक स्टेट (आईएस) ले पुनः संगठित हुने अवसर पाउन सक्ने चेतावनी दिएका छन् । 

श्रोतका अनुसार अमेरिकी सेना बुधबारसम्म इराकमा रहेको आफ्नो अन्तिम सैन्य आधारबाट समेत हट्ने तयारीमा छ । सन् २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इराकबाट गठबन्धन सेना हटाउने सहमति गरेको थियो । अहिले डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय कार्यान्वयन गरिरहेको छ ।

तर विडम्बना के छ भने अमेरिकी सेना इराकबाट बाहिरिँदै गर्दा अमेरिकाले इरानसँग युद्ध गरिरहेको छ । यस्तो अवस्थामा इराकबाट अमेरिकी सैन्य उपस्थिति हट्नुले तेहरान र उसका सहयोगीहरूलाई रणनीतिक रूपमा थप ठाउँ उपलब्ध गराउन सक्ने सुरक्षा विश्लेषकहरूको धारणा छ ।

अमेरिकाले सन् २००३ मा इराकमा आक्रमण गरी तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सरकार ढालेको थियो । त्यसपछि अमेरिकी सेनाले इराकमा लामो समयसम्म सैन्य कब्जा तथा विद्रोहविरुद्धको अभियान सञ्चालन गर्‍यो । अमेरिकी सेना सन् २०११ को अन्त्यमा इराकबाट बाहिरिएको थियो । तर त्यसको तीन वर्ष नपुग्दै इस्लामिक स्टेटको तीव्र विस्तारपछि अमेरिकी सेना फेरि इराक फर्कियो । 

सन् २०१४ देखि २०१७ सम्म अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनले इराकी सेनासँग मिलेर आईएसविरुद्ध ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो । इराक युद्धमा करिब ४ हजार ५०० अमेरिकी सैनिकको मृत्यु भएको थियो । यो संख्या अफगानिस्तानमा भएको समानान्तर युद्धमा मारिएका अमेरिकी सैनिकको भन्दा करिब दोब्बर हो । यस वर्ष इरानसँगको युद्धमा मृत्यु भएका १८ अमेरिकी सैनिकमध्ये सात जना इराकमा मारिएका थिए । इराकमा मारिने पछिल्ला अमेरिकी सैनिक जुलाईमा एर्बिल नजिकैको सैन्य आधारमा ड्रोनलाई नियन्त्रित रूपमा विस्फोट गराउने क्रममा मृत्यु भएका अमेरिकी सेना सार्जेन्ट थिए । 

अमेरिकी सेनाको बहिर्गमनसँगै इराकमा इस्लामिक स्टेट पुनः सक्रिय हुन सक्ने जोखिम पनि सुरक्षा अधिकारीहरूले औँल्याएका छन् । आईएसले करिब एक दशकअघि आफ्नो वर्चश्व गुमाइसकेको भए पनि इराकमा उसका ‘स्लीपर सेल’हरू अझै सक्रिय रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ । 

इराकबाट अमेरिकी सेना हट्नु केवल एउटा सैन्य अभियानको अन्त्य मात्र नभई मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलनसँग पनि जोडिएको छ । एकातिर इराकले आफ्नो सुरक्षा र सार्वभौमिकताको जिम्मेवारी आफैँ सम्हाल्ने दाबी गरिरहेको छ भने अर्कोतिर इरानसमर्थित सशस्त्र समूहहरूको प्रभाव र आईएसको सम्भावित पुनरुत्थान चुनौतीका रूपमा देखिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर