सभापतिमा बलिया गगनलाई कमजोर खड्गी र राठौरको चुनौती
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जना नेता चुनावी मैदानमा उत्रिएका छन्।
राष्ट्रिय सभागृहमा मंगलबार मनोनयन दर्ता गराएपछि पार्टी सभापति गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र काठमाडौं क्षेत्र नम्बर-६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले आ-आफ्ना राजनीतिक एजेन्डा र प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
मनाेनयन दर्तापछि गगनकुमार थापाले पार्टी चलाउन चाहिने योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे।
‘पार्टीका लागि चाहिने एकदमै जिम्मेवार साथीहरू पदाधिकारीमै भिड्दा भोलि पराजित भएर पार्टीको केन्द्रीय समितिबाटै बाहिर रहने अवस्था नआओस् भन्नेमा म सचेत छु,’ थापाले भने, ‘त्यसैले मैले व्यक्तिगत रूपमा पनि सबैलाई मिलाएर लैजान संवाद गरिरहेको छु।’
केन्द्रीय संरचनाबारे बोल्दै थापाले प्रवासमा रहेका श्रमिक नेपाली नागरिकलाई केन्द्रीय समितिमा जोड्न नयाँ संख्या थपिएको जानकारी दिए।
खुला प्रतिस्पर्धाका कारण महिला, दलित, मधेसी र खस-आर्यबाहेकका क्लस्टरको उपस्थिति कमजोर हुन नदिन पदाधिकारीको संरचना र संख्यामा नयाँ अभ्यास गरिएको उनले सुनाए।
अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले थापालाई सर्वसम्मत हुन नदिन मात्र आफूले उम्मेदवारी दिएको भन्ने चर्चालाई खण्डन गरे।
‘कोलकाता अधिवेशनदेखि अहिलेसम्म कांग्रेसको नेतृत्व निर्वाचन प्रक्रियाबाटै आउने गरेको इतिहास छ,’ खड्गीले भने, ‘व्यक्ति विशेष सभापति बन्दैमा लोकतन्त्र कमजोर हुने होइन, तर नेतृत्व चयनको विधि र प्रक्रिया सधैँ लोकतान्त्रिक हुनुपर्छ भनेर म मैदानमा आएको हुँ।’
थापा आफ्ना पूर्वविद्यार्थी रहेको स्मरण गर्दै खड्गीले गुरु-चेलाबीचको यो प्रतिस्पर्धालाई सुखद बताए।
सभापति पदमा अन्तिममा उम्मेदवारी दर्ता गराएका नेता किशोरसिंह राठौरले आफूले ३५ वर्षसम्म साथ दिएका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको भन्दै आक्रोश पोखे।
‘मैले साढे तीन दशक जुन नेताहरूलाई साथ दिएँ, आज तिनै नेताहरूले मलाई आधिकारिक उम्मेदवार बनाएर गगनजी विरुद्ध मैदानमा उतार्नुपर्थ्यो,’ राठौरले भने, ‘तर म एक्लै मैदानमा उभिनुपरेको छ। यसमा सबै पक्षको कमजोरी छ।’
रास्वपाले कांग्रेसलाई भित्तामा पुर्याएको र कम्युनिस्टहरू मिल्दै गर्दा कांग्रेसभित्रै दुईवटा अधिवेशनको अभ्यास हुनु विडम्बनापूर्ण भएको उनले बताए।
आफू सभापतिमा निर्वाचित भए पार्टी हराउन भूमिका खेल्ने केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय सभापतिहरूलाई पार्टीबाटै निष्कासन गरेर अनुशासन कायम गर्ने उनले चेतावनी दिए।







प्रतिकृया दिनुहोस